अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीको १० बुँदे घोषणापत्र, लुम्बिनी बुद्ध धर्मको उद्गमस्थल र कर्मथलो भएको स्वीकार

Post Date : May 21, 2016 | 9:38 pm

लुम्बिनी (रुपन्देही), ८ जेठ । बुद्ध जयन्तीको अवसर पारेर सरकारले काठमाडौँमा जेठ ६ र ७ गते अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीले तय गरेको १० बुँदे काठमाडौँ लुम्बिनी घोषणापत्र आज यहाँ सार्वजनिक गरिएको छ ।

घोषणापत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले यहाँ २५६०औँ बुद्ध जयन्ती समारोहमा सार्वजनिक गर्नुभयो । ५० हजारभन्दा बढी स्वदेशी विदेशी पाहुना सहभागी भएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोखरेलले विश्वका २८ मुलुकका बौद्धमार्गी, बुद्धिजीवी र भिक्षुहरु सहभागी भएको सम्मेलनमा १० बुँदे घोषणापत्र जारी गर्नुभएको हो ।

बौद्ध गोष्ठीमा सहभागीहरुले १० बुँदामध्ये एउटामा नेपाल बुद्ध जन्मेको देशमात्र नभई बुद्ध धर्मको उद्गम स्थल र बुद्धको कर्मथलो भएको स्वीकार गरेका छन् ।

यो बुँदा पारित हुनु नेपाल र नेपालीका लागि सबैभन्दा उपलब्धिमूलक रहेको मन्त्री पोखरेलले उल्लेख गर्नुभयोे ।

घोषणापत्रको दोस्रो बुँदामा बुद्ध धर्म एसियाको मात्र ज्योति होइन, समग्र विश्वकै ज्योति हो, विश्व शान्तिको प्रस्थान बिन्दु नेपाल हो भन्ने कुरा पनि उल्लेख गरिएको छ ।

यसैगरी, बुद्धत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसार गर्ने पनि घोषणापत्रमा उल्लेख छ । लुम्बिनी विकासको गुरुयोजना बनाउने र लुम्बिनी, तिलौराकोट, देवदह तथा रामग्रामलाई बराबरी विकास गर्ने पनि सहमति भएको छ ।

लुम्बिनी विश्वविद्यालयलाई सेन्टर अफ एक्सेलेन्स बनाउने १० बुँदेमा घोषणा भएको छ । त्यसैगरी, बुद्धले बुद्धत्व प्राप्त गरेको भारतको बोधगया, ज्ञान बाँडेको भारतकै सारनाथ र बुद्धले मृत्युवरण गरेको भारतकै कुशीनगरको पनि बराबरी विकास गर्ने घोषणापत्रमा उल्लेख छ ।

त्यसैगरी, घोषणापत्रमा ग्लोबल बुद्धिष्ट फोरम गठन गर्ने कुरा पनि उल्लेख गरिएको छ । यसको उद्देश्य विश्वभर शान्ति र भाइचाराको विकास गर्ने, मानवीय शान्ति, जनावरको अधिकारलगायतका काम गर्ने घोषणापत्रमा भनिएको छ । बौद्ध गोष्ठी तथा बुद्ध जयन्ती समारोहमा २८ राष्ट्रका ३८५ जना विद्वान् तथा भिक्षु, भिक्षुणीलगायतको सहभागिता रहेको थियो ।

गोष्ठीमा नेपालसहित भारत, बङ्गलादेश, अस्ट्रेलिया, भुटान, कम्बोडिया, चीन, जर्मनी जापान, लिथुआनिया, मलेसिया, मङ्गोलिया, कतार, रोमानिया, दक्षीण कोरिया, श्रीलङ्का, स्विट्जरल्यान्ड, थाइल्यान्ड, टर्की, बेलायत, अमेरिका, भियतनामका विद्वान् र भिक्षुहरु सहभागी थिए ।

गोष्ठीमा भारतबाट नौजनाको टोली आएको थियो भने चीनबाट ३०१ जना, कोरियाबाट नौ जना, थाइल्यान्डबाट १४ जना, अमेरिकाबाट सातजना गोष्ठीमा भाग लिन आएका थिए । बुद्ध जयन्तीको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो । (दीपक घिमिरे) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *