अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले बुद्धसम्बन्धी भएका भ्रम चिर्न सफल हुन्छ – प्रम

Post Date : May 9, 2016 | 7:20 pm

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले २५६०औँ बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले बुद्धसम्बन्धी भएका भ्रम चिर्न सफल हुने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा २५६०औँ बुद्ध जयन्ती समारोह तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन मूल समारोह समितिको आजको बैठकमा उहाँले बुद्धसम्बन्धी भएका भ्रमहरुलाई चिर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो–“बुद्धसम्बन्धी कताकति भ्रम छ, त्यो कम प्रचार भएर भएको हो, अन्तर्राष्ट्रिय जगत्सहितको सम्मेलनले भ्रम चिर्न मद्दत गर्छ र बुद्ध र बुद्ध दर्शन नेपालबाट सुरु भएको प्रमाणित गर्छ ।”

सिद्धार्थ गौतमले एकैपटक परिवार, दरबार र श्रीपेच छाड्नसक्नु बुद्धत्व प्राप्तबाट भएको उल्लेख गर्दै उहाँले भन्नुभयो – “असाधारण साहसिक, लोभ, मोह त्याग गर्न सक्नु ज्ञान प्राप्त नगरी सम्भव हुने थिएन ।”

प्रधानमन्त्री ओलीले बुद्धजयन्ती र अन्तर्राष्ट्रिय बुद्ध सम्मेलन मनाउन सिङ्गो नेपाल उत्साहित भइरहेको र राजनीतिज्ञ, सरकारी उच्च अधिकारी, धार्मिक संस्थाहरु सबैको एक्यबद्धता रहेको बताउनुभयो ।

नेपाल बुद्ध दर्शनको इतिहास थलोमात्र नभएर बुद्धका तीन सम्प्रदाय पनि नेपालबाटै सुरु भएको उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीले गौतम बुद्धको जन्मभूमि लुम्बिनी नै भएको हुनाले बुद्धजयन्ती लुम्बिनीमै मनाउने र अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन भने काठमाडौँमा गर्न लागेको जानकारी दिनुभयो ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले शान्तिका अग्रदूत गौतम बुद्धको जन्म र कर्म थलो नेपाल नै भएकाले नेपाल बौद्ध दर्शनको मुहान भएको पुष्टि सम्मेलनले गर्ने बताउनुभयो ।

उहाँले गौतम बुद्ध नेपालमा नभई अन्य देशमा जन्मिएका भन्ने सच्याउनका लागि परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशमा पत्राचारसमेत गरिसकेको र दक्षिण कोरियाले बुद्ध भारतमा जन्मिएको भन्ने शब्द हटाएर नेपालमा जन्मिएको कुरा उल्लेख गरेको समेत जानकारी दिनुभयो ।

बैठकमा सहभागीहरुले गौतम बुद्ध नेपाल नभई अन्य देशमा जन्मिएको भन्ने कुरा प्रचार प्रसारको कमीका कारण भएको र ऐतिहासिक सम्मेलनले बुद्धसम्बन्धी सम्पूर्ण भ्रम अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

“लुम्बिनी, नेपाल ः भगवान् बुुद्धको जन्मस्थल तथा दर्शनको उद्गमस्थल” भन्ने नाराका साथ आगामी जेठ ७ र ८ गते अन्तर्राष्ट्रिय गोष्ठी काठमाडौँमा तथा २५६० औँ बुद्धजयन्ती समारोह लुम्बिनीमा जेठ ८ गते मनाइने भएको हो ।

प्रधानमन्त्री ओलीको अध्यक्षतामा बनेको ५०१ मूल समारोह समितिको बैठकमा मूल समारोह समितिका सदस्य–सचिव बच्चुनारायण श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै सम्मेलनमा १३ देशका संस्कृति मन्त्रीहरु आउने जानकारी दिनुभयो ।

साथै, सम्मेलनका लागि १३ वटा उपसमितिहरु निर्माण गरिएको छ । सम्मेलनमा १८ विदेशी र छ नेपाली गरी २४ वटा कार्यपत्र प्रस्तुत हुनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *