अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माणको तयारी

Post Date : June 4, 2017 | 3:15 pm

बाबियाचौर (म्याग्दी), २१ जेठ । धौलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा ५३दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण गरिने भएको छ ।

हिमालयन इन्फ्रास्टक्चर फन्ड लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको पहिलो चरणमा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ई.आइ.ए. रिपोर्ट) तयार भएको छ । सम्बन्धित निकायबाट ई.आइ.ए प्रतिवेदन स्वीकृत गराई, विस्तृत अध्ययन, विद्युत् खरिद बिक्री सम्झौता र वित्तीय स्रोत व्यवस्थापन गरेपछि विद्युत् विकास विभागबाट अनुमति लिएर पूर्वाधार निर्माणको काम अघि बढाउने कम्पनीका निर्देशक उपेन्द्रराज गौतमले जानकारी दिनुभयो ।

धौलागिरि गाउँपालिका–४ मुदीको खाम्लानजिकै बाँध र मालिका गाउँपालिका–७ बिमको भारवाङमा विद्युत्गृह रहने आयोजना रन अफ द रिभर प्रकृतिको हो । पाँचसय मिटर दूरीको सुरुङबाट ल्याइएको पानी ७७० मिटर हेडबाट विद्युत्गृहमा खसालिने कम्पनीले जनाएको छ । रु नौ अर्ब ३३ करोड लागत अनुमान गरिएको आयोजनाबाट उत्पादित विद्युत् दाना सबस्टेसनमा पु¥याई केन्द्रीय प्रसारण लाइनमा जोडिने निर्देशक गौतमले बताउनुभयो । आयोजनाले दश किमी पहुँचमार्ग र भारबाङदेखि दानासम्म २८ किमी दूरीको १३२ केभी क्षमताको प्रसारण लाइनसमेत निर्माण गर्ने भएको छ ।

धौलागिरि हिमालबाट बगेर आउने म्याग्दी नदीमा हाल दुईवटा आयोजना पूर्वाधार निर्माणको चरणमा छन् भने चारवटाको सर्वेक्षण भइरहेको छ । हाइड्रो इम्पाइरले २० मेगावाटको अपर म्याग्दी र धौलागिरि कालिका हाइड्रोले २५ मेगावाटको दरवाङ म्याग्दी खोलाको पूर्वाधार निर्माणका लागि विद्युत् विकास विभागले अनुमति दिएको छ । ५७ मेगावाट क्षमताको म्याग्दीखोला हाइड्रोपावर सर्वेक्षणको चरणमा छ भने २४दशमलव ०७ मेगावाट क्षमताको सुपर म्याग्दी र चार दशमलव छ मेगावाटको म्याग्दी खोला ‘बी’ले सर्वेक्षणको अनुमतिका लागि विभागमा निवेदन दिएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *