अब ट्रकमै थिएटर

Post Date : March 25, 2016 | 10:27 am

चैत्र १२, २०७२- अक्सर रंगमञ्चमा के हुन्छ ? आरोहण गुरुकुलले ५० को दशकयता काठमाडौंमा नाटक देखाउनुअघि केही नियम सूत्रबद्ध गरेको थियो, हलभित्र खासखुस गर्न नपाइने । खानेकुरा खान, मोबाइलमा कुरा गर्न, फोटो खिच्दा फ्ल्यास दिन नपाइने ।

यो गर्न पाइने, त्यो गर्न नपाइने । गुरुकुलपछि खुलेका थिएटरले पनि यस्तो नियम चलाउने नै भए । माइक्रोफोनबिना मञ्चमा बोल्ने कलाकारलाई हलभित्र शान्ति अपेक्षित नै हुन्छ ।

मेहनत, सजधजसाथ बनेको थिएटरसम्म हलसम्म दर्शक आउनुपर्ने, सिट संख्याअनुसार टिकट बेचेपछि उब्रिएका दर्शक बाहिर पर्ने । आम रंगमञ्चको नियम तोड्दै शुक्रबार राजधानीमा केही नयाँ प्रयोग हुन गयो, मोबाइल थिएटरको ।

अर्थात् ट्रक गुड्दै आउँछ । चारैतिरका ‘बडी’ पालैपालो खुल्छन् । मानिसहरू बसिरहेको स्थानसम्म गुड्दै पुगेको सिंगो ट्रक नै यसरी थिएटर बन्न पुग्छ ।

कुनै सूत्रबद्ध नियम छैन । दर्शक भएको ठाउँसम्म थिएटर पुगेपछि अरू के चाहियो ।

मण्डला नाटक घरका निर्देशक राजन खतिवडा र रोबोटिस्ट इन्जिनियर अनिल कार्कीको परिकल्पनामा ‘एडेन इन्जिनियरिङ’ नामक चीनमा अध्ययन गरेर फर्केको विमान इन्जिनियरहरूको एक समूहले ट्रकलाई नै थिएटरमा अनूदित गर्न सकेको हो । गुड्ने थिएटर खडा गर्न सफल खतिवडाका अनुसार अब दर्शक थिएटरसम्म होइन, थिएटर दर्शकसम्म पुग्छ ।

वैशाखभित्र भूकम्प प्रभावित बस्तीसहित काठमाडौं उपत्यकाका १६ स्थानमा ट्रक गुडाउँदै नाटक देखाउने मनसुबा मण्डलाको छ । मोबाइल थिएटरको नाम ‘जुनकिरी’ राखिएको छ । गुड्दै आएको ट्रक रोकेर मोबाइल थिएटर चलाएका मण्डलाका नाट्यकर्मीले पहिलो प्रस्तुतिस्वरूप इटालियन नाटककार लियो लियोनीको ‘फ्रेडरिक’ को अनूदित नाटक ‘मनचिन्ते फिरन्ते’ शुक्रबार अनामनगरमा प्रस्तुत गरे ।

मण्डला थिएटरको पार्किङ लटनेर अकस्मात् ट्रकमै रंगमञ्च तयार हुँदा छक्क परेका वरपरका मानिस एकाएक अघिल्तिर ओइरिए । आसपासका घरका बार्दली र झ्यालमा छिमेकीहरू नाटकका दर्शकका रूपमा कुँडुलो परे । पश्चिमा देशमा अभ्यास भइसकेको ट्रक थिएटर नेपालमा विस्तार हुँदै गर्दा ९५ वर्षीय नाटककार सत्यमोहन जोशी, नेता रघु पन्त, दीप श्रेष्ठलगायत छक्क पर्दै थिए ।

‘सन् १९९८ सालमा बालकृष्ण समले मौलिक नेपाली नाटक थालेर जसरी क्रान्ति ल्याए, त्यस्तै क्रान्ति हो यो,’ पाका रंगकर्मी जोशीले जोसिलो आवाजमा दर्शकतिर हेर्दै आवाज दिए, ‘युवा रंगकर्मीले केन्द्रीकृत नाटक कर्मलाई ट्रकमा गुडाउँदै देशका कुनाकाप्चासम्म पुर्‍याउने छन् ।

यो रंगमञ्चको क्षेत्रमा ऐतिहासिक परिवर्तन हो ।’ एमाले नेता रघु पन्तले गतिलो थिएटर नभएको सहर वास्तविक अर्थमा ठूलो सहर नमानिने भन्दै मोबाइल थिएटरलाई शुभकामना दिए ।

गायक दीप श्रेष्ठको समूहले गीत सुनायो । मण्डलाका निर्देशक खतिवडाले कैयौं रात नसुतेरै देखेको सपना पूरा भएको भन्दै खुसियाली साटे । मण्डलाकी उपाध्यक्ष सिर्जना सुब्बाले जर्मन नियोग जीआईजेडबाट प्रदत्त ट्रकको साँचो बुझिन् ।

अध्यक्ष दयाहाङ राईले यो वर्ष काठमाडौंमा केन्द्रित भए पनि अर्को वर्ष देशैभरि ट्रकमा नाटक देखाउँदै घुम्ने योजना सुनाए । उनीहरूले दर्शकलाई नाटकघर नभई नाटकघरलाई दर्शकसम्म पुर्‍याउने लक्ष्य राखेको बताएका छन् ।

यसअघि २०६६ सालमा अस्थायी रूपमा घुम्ती रंगमञ्च चलाउँदै देशाटन गरे पनि यसपल्ट स्थायी रूप दिन खोजेको उनीहरूको भनाइ छ । ‘नाटकघरसम्म आउन नसक्ने अथवा थाहा नभएका तर कलामा चाख भएका समुदायमा जुनकिरी घुम्ती थिएटर केन्द्रित गर्दैछौं,’ मण्डलाले भनेको छ ।

पछिल्लो समय मण्डलासँगै राजधानीमा शिल्पी, सर्वनाम, थिएटर भिलेजजस्ता नाटकघर सञ्चालन भइरहेका बेला ट्रकमा नाटक देखाउने संस्कृति सुरुवात हुन लागेको हो ।

प्रकाशित: चैत्र १२, २०७२

Leave a Reply

Your email address will not be published. Required fields are marked *