अर्थसमिति बैठक

Post Date : July 4, 2016 | 3:56 pm

काठमाडौँ, २० असार । व्यवस्थापिका–संसद्अन्तर्गतको अर्थसमितिको आजको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक, २०७१ माथि सुझावसहितको प्रतिवेदन पेस भएको छ ।

समितिको आजको बैठकमा सो विधेयकको दफाबार छलफल गरी सुझावसहितको प्रतिवेदन पेस गर्न गठित उपसमितिले समितिमा पेस गरेको हो ।

विधेयकमा नेपाल राष्ट्र बैंक (दोस्रो) ऐन, २०७१ भन्ने शब्दको सट्टा नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन) ऐन, २०७३ भन्ने शब्द राख्ने तय भएको छ । सांसदहरु केशव बडाल, चन्द्र भण्डारी, कमला पन्त, इच्छाराज तामाङलगायतले विधेयकका विषयमा अर्थमन्त्री विष्णु पौडेललाई समेत बोलाएर छलफल गर्नुपर्ने बताउनुुभयो ।

त्यसैगरी, बैठकमा कर्मचारी सञ्चय कोष (नवौँ संशोधन) विधेयक–२०७१ मा परिमार्जन गर्न बनेको विधेयकमाथि समेत छलफल भएको छ ।

विधेयकमा कोषले सरकार वा सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको कुनै पनि निकायद्वारा प्रवद्र्धित ऊर्जा निर्माणसँग सम्बन्धित कम्पनी वा सहकारी सङ्घसंस्थाको सम्भावना अध्ययन गरी सेयरमा लगानी गर्ने भन्ने कुरामा सांसदहरुबीच विवाद देखिएको छ ।

सांसदहरु चन्द्र भण्डारी, इच्छाराज तामाङलगायतका सांसदले सञ्चयकोष र सहकारीको ऐन तथा कार्यक्षेत्र फरकफरक भएको हुँदा सहकारीलाई सञ्चयकोषमा ल्याउन नहुने भनाइ थियो भने केशव बडाललगायतले सांसदले सञ्चयकोष पनि राज्यको अङ्ग भएको हुँदा सहकारीसँग जोड्दा फरक नपर्ने धारणा राख्नुभएको थियो ।

समितिका सभापति प्रकाश ज्वालाले नेपाल राष्ट्र बैंक ऐन संशोधन र कर्मचारी ऐन संशोधनको विषयमा अर्थमन्त्री पौडेल तथा सरोकारवालापक्षसँग छलफल गरी पारित गर्ने जानकारी दिँदै आजको बैठक स्थगित भएको जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *