अवैध रुपमा एटिएमबाट रकम निकाल्ने तीन रोमानियन नागरिक पक्राउ

Post Date : November 7, 2016 | 4:40 pm

काठमाडौँ, २२ कात्तिक । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एटिएम कार्डबाट डाटा तथा पिन चोरी गरी अनधिकृत रुपमा रकम निकाल्ने तीन रोमानियाका नागरिकलाई पक्राउ गरेको छ ।

ब्युरोबाट खटिएको टोलीले काठमाडौँका दरबारमार्ग, ठमेललगायतका स्थानबाट हिँड्न क्यामरा प्रयोग गरी रकम निकालेको अभियोगमा शुक्रबार घिता हुजुम, ओसिप मोरारु र एलेक्स क्रिष्टियन बुगाहिरुलानलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले ती अभियुक्तबाट रु तीन लाख आठ हजार ५०० नेपाली र १० हजार ९०५ युरो, ४७० फिलिपिनो मुद्रा, ३५३ थान एटिएम कार्ड, मोबाइल फोन छ थान, ल्यापटप दुई थानलगायतका सामग्री बरामद गरेको छ ।

पछिल्लो समय नेपालमा बुल्गेरिया, टर्की, रोमानियालगायत देशका नागरिक पर्यटक भिसा बनाएर नेपाल आई विभिन्न बैंकको एटिएममा पसेर रकम चोर्ने गरेका ब्युरोले जनाएको छ ।

यसभन्दा पहिले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट २०७१ साल मङ्सिरमा २६ लाख नेपाली रुपैयाँसहित टर्कीका नागरिक, सोही वर्ष चैतमा १८ लाख नेपाली रुपैयाँसहित बुल्गेरियाका नागरिक, २०७३ साउनमा दुई लाख ६४ हजार नेपाली रुपैयाँसहित रोमानियाका नागरिक पक्राउ परेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *