आज तलेजु भवानी मन्दिरमा भीड

Post Date : October 10, 2016 | 11:28 am

काठमाडौँ, २४ असोज । काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको छ ।

प्रत्येक वर्ष दसैँको नवरथाको नवमीका दिन मात्र उक्त मन्दिर सर्वसाधारणका लागि खुला गरिने हुँदा आज भक्तजनको घुइँचो लागेको छ ।

दर्शनार्थीको भीड बढेपछि हनुमानढोका दरबार हेरचाह अड्डाका प्रतिनिधि तथा सुरक्षाकर्मीले भीड व्यवस्थापन गरेका छन् ।

विभिन्न सामाजिक सङ्घ संस्था तथा स्थानीय युवा क्लबले समेत स्वयम्सेवक खटाएका छन् । ती स्वयम्सेवकले त्यहाँ आउने दर्शनार्थीको भीड व्यवस्थापन तथा पथ प्रदर्शनमा सहयोग गरेका छन् ।

स्थानीय समाजसेवी रमेशमान मुनिकारका अनुसार उक्त मन्दिरमा आजका दिन दर्शन गरेमा सुख, शान्ति तथा पारिवारिक समृद्धि कायम हुन्छ ।

आज करिब ७० हजारदेखि ८० हजारले उक्त मन्दिरमा दर्शन गर्ने अनुमान गरिएको छ । अड्डाकी निर्देशक सरस्वती सिंहले वर्षमा एकपटक मात्र सो मन्दिर खोलिने भएकाले काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रका दर्शनार्थीको समेत सहभागिता बढ्ने बताउँदै आएका दर्शनार्थीलाई छिटो छरितो दर्शनको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

यसैगरी, सोही मन्दिर नजिकै गएराति ५४ बोका तथा ५४ राँगाको बलि दिएर कालरात्रि मनाइएको छ । कालरात्रिका दिन सरकारी स्तरबाट नै यस किसिमको बलि दिने प्रचलन छ । रासस (Photo: http://krantikarki.wordpress.com)

Leave a Reply

Your email address will not be published. Required fields are marked *