आठराईमा एकैसाता दुई स्थानमा डिप बोरिङबाट खानेपानी

Post Date : April 27, 2018 | 6:06 pm

आठराई, तेह्रथुम, १४ वैशाख । खानेपानीको चरम समस्या रहेको तेह्रथुमको आठराई गाउँपालिकामा एकैसाता दुई स्थानमा डिप बोरिङबाट खानेपानी निकालिएको छ ।

खानेपानीको समस्यालाई समाधान गर्न गाउँपालिकाको केन्द्र संक्रान्तिबजार नजिकै रहेको बगाले शहीद स्मृति पार्कस्थित डुङ्कुरी डाँडा र झुमेडाँडामा डिप बोरिङ प्रणालीबाट पानी निकाल्न निकालिएको हो । बगाले पार्कको डुङ्कुरी डाँडामा गाउँपालिकाको रु ४० लाख लागतमा बुकी पोखरी खानेपानी तथा सिँचाइ आयोजनामार्फत सतहको पानी बाहिर निकाल्ने काम भएको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले बताउनुभयो ।

गाउँपालिकाको गाउँ परिषद्बाटै आठराई गाउँपालिका–१ संक्रान्तिबजारमा खानेपानीका लागि रु ४० लाख बजेट विनियोजन गरिएको थियो । खानेपानीको अभाव रहँदै आएको यस क्षेत्रमा बोरिङबाट पानी निकालेर समस्याको समाधान गर्न थालिएको हो ।

खानेपानीको ट्याङ्की र पाइप लाइन विस्तारका लागि अघिल्लो गाउँसभाको निर्णयलाई संशोधन गरेर थप बजेट विनियोजन गरिने गाउँपालिकाका अध्यक्ष लिम्बूले बताउनुभयो ।

बोरिङको काम सम्पन्न भएपछि पहिलो चरणमा गाउँपालिकाको केन्द्र संक्रान्तिबजार र बुकी गाउँमा खानेपानी पुरयाउने तयारी भएको छ । निगाले रमिते सामुदायिक वन ह्वाकू र बगाले शहीद स्मृति पार्कको क्षेत्रमा बोरिङ गर्न शुरु भएको करीब १२ घण्टामा १०० मिटर गहिराइमा पानी भेटिएको प्राविधिकहरुले बताएका छन् ।

गाउँपालिकाको केन्द्र संक्रान्तिबजार नजिकै झुमेडाँडाबाट पानी निकालिएको छ । झुमेडाँडामा १२८ मिटरको गहिराइमा पिउन योग्य पानी भेटिएको छ । आठराई थोक्लुङ, चुहानडाँडालगायतका गाउँमा खानेपानीको समस्यालाई हल गर्न झापाको दमकस्थित अर्पिट रियल स्टेट कम्पनीको लगानीमा बोरिङ गरी जमिनमुनिको पानी लिकाल्ने काम भएको हो ।

खानेपानीको चरम समस्यालाई हल गर्नका लागि बोरिङबाट पानी निकाल्न आठराई गाउँपालिका वडा नं १ संक्रान्तिबजारको वडा कार्यालयले अर्पिटरियल स्टेट कम्पनीलाई अनुमति दिएको थियो ।

सतहको पानी बोरिङ गरी बाहिर निकाल्न मात्र रु ३८ लाख लगानी भएको अर्पिट रियल स्टेट कम्पनीका प्रबन्धक भैरव सिटौलाले बताउनुभयो । ट्याङकी निर्माण र पाइप विस्तारको काम शुरु गरी उपभोक्तालाई पानी वितरण गरिने बताइएको छ । काठमाडाँैमा रहेको क्रिस्टल ड्रिलिङ कम्पनीले सम्भाव्यता अध्यायन गरी आठराईमा बोरिङको काम गरेको हो ।

खानेपानीको अभावलाई समाधान गरी कृषि क्षेत्रमा समेत बोरिङको पानी प्रयोग गरिने बुकी पोखरी खानेपानी तथा सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष दुर्गा बहादुर खत्रीले बताउनुभयो । “खानेपानीका लागि मुहान खोज्यौँ, कतै भेटिएन”, समितिका अध्यक्ष खत्रीले भन्नुभयो । “नयाँ प्रविधिबाट निकालिएको पानी दैनिक उपभोग्य काम र कृषिको क्षेत्रमा प्रयोग गर्छांै ।

झुमेडाँडामा पानी निकाल्नका लागि स्थानीय झुमनाथ काफ्लेले रु ४० लाख मूल्यबराबरको चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ । संक्रान्तिबजारस्थित मालपोत चोकबाट पानी निकाल्ने स्थान झुमेडाँडासम्म केजी निर्माण सेवाले रु आठ लाख लागत बराबरको एक किलोमिटर मोटरबाटो निःशुल्क निर्माण गरेको प्रबन्धक सिटौलाले बताउनुभयो ।

सुख्खा याम शुरु भएपछि आठराईको संक्रान्तिबजार, थोक्लुङ, चुहानडाँडा, छातेढुङ्गालगायतको गाउँमा खानेपानीको चरम अभाव हुँदै आएको छ । यसअघि तेह्रथुमको छथर गाउँपालिकाले पनि डिप बोरिङ प्रणालीबाट खानेपानी निकालेको छ । तेह्रथुममा खानेपानीका लागि तीनवटा डिप बोरिङ प्रविधिका आयोजना एकैसाथ शुरु भएका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *