आठ सयलाई डकर्मी तालिम

Post Date : May 13, 2016 | 4:13 pm

काठमाडौँ, ३१ वैशाख । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट ८०० युवाले भूकम्प प्रतिरोधक घर बनाउने सीपसम्बन्धी तालिम लिएका छन् ।

गोरखा भूकम्पपछि भूकम्प प्रतिरोधी घर बनाउने दक्ष डकर्मी उत्पादन गर्ने उद्देश्यका साथ सिटिइभिटीले भूकम्प अतिप्रभावित १४ जिल्लाका चार हजार ५०० युवालाई डकर्मी तालिम दिने योजना बनाएको छ ।

नियमित कार्यक्रमअन्तर्गत युवालाई डकर्मी तालिम दिइरहेको उल्लेख गर्दै बाँकी तीन हजार ७०० युवालाई तालिम दिइने सिटिइभिटीका प्रवक्ता शिवशङ्कर घिमिरेले जानकारी दिनुभयो ।

यसअघि पनि डकर्मी तालिम दिने गरिए पनि यो वर्ष पुनःनिर्माणलाई नै लक्षित गरी तालिमको कोटा बढाएको सिटिइभिटीका सदस्य सचिव रामहरि लामिछानेले बताउनुभयो ।

उहाँले भन्नुभयो – “केही जिल्लामा तालिम सकिसकेको छ भने केही जिल्लामा तालिम चलिरहेको छ । हामीले भूकम्प अति प्रभावित १४ वटा जिल्लाका जिल्ला दैवी प्रकोप उद्धार समिति तथा निर्माण व्यवसायीसँग समन्वय गरेर तालिम सञ्चालन गरिरहेका छौँ ।”

सिटिइभिटीले तालिमसँगै ती १४ जिल्लाका प्रभावित ५०० छात्रछात्रालाई निःशुल्क अध्यापन पनि गराउने जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *