आधुनिक मिल बढेसँगै ढिकीजाँतो लोप हुँदै

Post Date : April 29, 2016 | 11:54 am

राजविराज, १७ वैशाख । सप्तरीका ग्रामीण क्षेत्रमा आधुनिक विद्युतीय तथा डिजेलबाट चल्ने मिल स्थापना भएपछि यहाँका परम्परागत ढिकी र जाँतो लोप हुँदै गएका छन् ।

आधुनिक विद्युतीय तथा डिजेलका मिलको स्थापनासँगै परम्परादेखि खाद्यान्न तथा कुटानी, पिसानी गर्न प्रयोग गर्ने ढिकी र जाँतो प्रयोगविहीन अवस्थामा रहेको ग्रामीण भेगमा देख्न पाइन्छ ।

विद्युतीय र डिजेलका मिल ग्रामीण भेगका टोलटोलमा स्थापित हुन थालेपछि अब ग्रामीण भेगमा पनि ढिकी र जाँतोको चलन हट्दै गएको सप्तरीको हनुमाननगर योगिनिमाई नगरपालिका–२ का कलमवती देवी यादवले बताउनुभयो ।

पहिले पहिले त ढिकी र जाँतोले कुटेपिसेको खाद्यान्न खान स्वादिलो हुन्थ्यो तर हिजोआज मानिसको आधुनिक विद्युतीय तथा डिजेलमा चल्ने मिलमा आकर्षण बढ्दै गएकाले ग्रामीण भेगमा पनि ढिकी र जाँतो लोप हँुदै गएको बताउँदै ढिकी र जाँतोमा कुटेको च्युरा, चामल खानु त सपना जस्तै भएको उहाँको भनाइ छ ।

सोही ठाउँकी सजनीदेवी खड्कालाई ढिकीमा कुटेको चामल र जाँतोमा पिँधेको पीठो नै मीठो लाग्छ । उहाँ भन्नुहुन्छ— ‘‘ढिकीको चामल र जाँतोको पीठोजस्तो मिलमा पिसेको पीठो त्यत्ति स्वादिलो हुँदैन ।” ढिकी, जाँतोमा कुटे–पिँधेको खाद्यान्न खानाले मीठो हुनुका साथै स्वास्थ्यलाई पनि फाइदा हुने गरेको बुढापाका बताउँछन् ।

दसँै, तिहार र चाडपर्वको बेलामा देवीदेउतालाई चढाउने सामग्रीका रुपमा ढिकी र जाँतोमा नै कुटेको र पिँधेको चामल, पीठो शुद्ध मानिने भारदह–५ का मायादेवी दास बताउनुहुन्छ । मन्दिरमा पूजाआजाका लागि शुद्ध र चोखो ढिकी र जाँतोमा पिँधेको मात्रै प्रयोग गर्ने गरे पनि आजकल आधुनिक विद्युतीय तथा डिजेलका मिल खुलेपछि मानिसहरुले यसको खोजी गर्न समेत बिर्सेको उहाँको भनाइ छ ।

ढिकी र जाँतो विगत एक दशकअघि सम्म सबैले आफ्नो घरघरमै राख्थे तर अहिले गाउँ–गाउँमा आधुनिक मिलको स्थापना भएपछि विस्थापित हुँदै गएको राजविराज–४ की लक्ष्मी दासले बताउनुभयो । गाउँमा तोरीे पेल्ने कोलसमेत हटेर लोप हुँदै गएको देखिन्छ । (अरुण कुमार यादव) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *