‘आरोप’ मा आरोपितको वेदना

Post Date : September 14, 2016 | 3:55 pm

काठमाडौँ, २९ भदौ । समय र परिस्थितिले आफूले नगरेको गल्तीको सजाय भोग्न कसरी बाध्य बनाउँछ भन्ने कथा बोकेको छ, मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘आरोप’ ले ।

उक्त नाटकलाई जीवनका खुसी, दुःख र पीडाको सङ्गम पनि भन्न सकिन्छ । विकास जोशीको कथा, परिकल्पना र निर्देशित आरोपले कुनैपनि कुराको गहिरो विश्लेषण नगरिकन लिएका निर्णय कति गलत हुनसक्छ भन्ने देखाउन खोजेको छ ।

नाटकले युवा र किशोर उमेरले निम्त्याएको प्रेम, रिस, इष्र्यालाई प्रष्ट्याएको छ । दौतरी मौसमी र उत्सवबीचको प्रेम स्वाभाविक भए पनि सानै उमेरकी सौरभीले आफूभन्दा उमेरले निकै ठूलो उत्सवसँग गरेको एकोहोरो प्रेमले निम्त्याएको समस्यालाई उजागर गरेको छ ।

आफ्नी दिदी मौसमी र आफूले मन पराएको व्यक्ति उत्सवबीचको प्रेमको भावनालाई लिएर सौरभी आफूलाई पनि उत्सवले त्यस्तै माया गरिदिए हुन्थ्यो भन्ने याचनामा उनलाई आफ्नो चित्रकला सिकाउने शिक्षक समेत नियुक्त गर्न दाईलाई दबाब दिन्छिन् ।

दाइले सौरभीको आग्रहमा उत्सवलाई शिक्षक नियुक्त गर्दछन् । तर पहिलेदेखि प्रेममा रहेका मौसमी र उत्सवले प्रेमपत्र साटासाट गर्न पुस्तकको साहरा लिएको देखेकी सौरभीले प्रेमपत्र लुकाइदिने कार्यसमेत गर्दछिन् ।

दिदी नभएको मौकामा सौरभीले उत्सवलाई आफूलाई प्रेम गर्न गरेको जबरर्जस्तीले परिस्थिति उल्टो देखिन्छ । जब मौसमी घरमा आइपुग्छिन् बहिनीको त्यो हालत र आफ्नो प्रेमीको असामन्जस्यताले उनलाई उत्सव बलात्कारी भएको मान्न बाध्य बनाउँछ ।

मौसमी आफ्नो प्रेमीको कुरा समेत नसुनी बहिनीलाई सम्हाल्न पुग्छिन् । उत्सव परिस्थितिको स्पष्टिकरण दिन खोज्छ तर मौसमी सुन्न चाहन्नन् ।

जब मौसमीलाई यथार्थ घटनाबारे थाह हुन्छ तब उत्सव हराइसकेको हुन्छ । उसको परिवारसमेत चिन्तित अवस्थामा भए पनि अनावश्यक आरोपले उत्सवलाई कसैको अगाडि पर्न दिँदैन र उ कतै हराउँछ ।

नाटकमा एना देउजा, परीक्षा लामिछाने, सन्दिप श्रेष्ठ, पिटर प्रिन्स र सुरज श्रेष्ठको अभिनय देख्न सकिन्छ । नयाँ अनुहारका कलाकार भए पनि उनीहरुले आफ्नो चरित्रलाई जीवन्त पार्ने कोसिस गरेका छन् ।

यही भदौ १७ गतेदेखि सुरु भएको नाटक असोज २ गतेसम्म चल्नेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *