आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (एक्काइसौँ संशोधन) विधेयक २०७३ बहुमतले पारित

Post Date : September 30, 2016 | 4:13 pm

काठमाडौँ, १४ असोज । व्यवस्थापिका–संसद्को बैठकले अर्थतन्त्रसम्बन्धी तीन विधेयकलाई बहुमतले पारित गरेको छ ।

ती विधेयकमा आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत (एक्काइसौँ संशोधन) विधेयक २०७३ रहेका छन् ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सदनको आजको बैठकमा ती विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदन समक्ष प्रस्तुत गर्नुभएको थियो ।

ती विधेयकलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले समेत सदन समक्ष प्रस्तुत गरेको थियो । तर तत्कालीन सत्ता साझेदार प्रमुख दल नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएका कारण ती विधेयक पारित हुन सकेका थिएन ।

ती विधेयकका सैद्धान्तिक पक्षमाथिको छलफलमा नेपाली काँग्रेसका भरतकुमार साह र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भाग लिनुभएको थियो ।

अर्थमन्त्री महराले आर्थिक समृद्धिमा सरकारले जोड दिएको, विलासीमा उपकरणमा उच्च कर लगाइएको, करका दरलाई समयसापेक्ष रुपमा परिमार्जन गरिएको बताउनुभयो ।

उहाँले कर चुहावट नियन्त्रणमा सरकारले उच्च प्राथमिकता दिएको, कर प्रणालीमा सुधार भइराखेको पनि जानकारी दिनुभयो ।

व्यवस्थापिका–संसद्को अर्काे बैठक २०७३ असोज १६ गते आइतबार दिनको १ बजे बस्ने छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *