‘आर्थिक समृद्धिका लागि सहकारीको ठूलो देन’

Post Date : September 25, 2016 | 10:05 pm

बेँसीसहर (लमजुङ), ९ असोज । सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले नागरिकको आर्थिक समृद्धिका लागि सहकारीको ठूलो देन रहेको बताउनुभएको छ ।

सिर्जनात्मक बचत तथा ऋण सहकारी संस्थाको १७औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले राष्ट्रको प्रगतिमा सहकारीको ठूलो योगदान रहेको बताउनुभयो । सहकारीकै कारण मुलुकमा आर्थिक सहजता आएको र ४६ प्रतिशत महिला सहकारीमा आबद्ध भएको उहाँको भनाइ थियो ।

सहकारी क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै उहाँले अवसर लुट्ने प्रवृत्तिमा रहेका सहकारी सञ्चालकलाई सरकारले कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।

सो सहकारीका अध्यक्ष नवराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला बचत सङ्घका अध्यक्ष दुर्गाभक्त धमला, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य मधु अधिकारी, नेपाली काँग्रेस जिल्ला सभापति भेषबहादुर पौडेल, नेकपा (एमाले)का जिल्ला सहसचिव सुवास पौडेललगायतले मन्तव्य राख्नुभएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *