आलेखः किसानलाई असल बाटो देखाउने ‘कृषि घर’

Post Date : April 5, 2016 | 11:13 am

(नारायण ढुङ्गाना)

रत्ननगर (चितवन), २३ चैत । चितवनको गीतानगरकी किसान सुनिता चापागार्इं एन्ड्रोइड मोबाइलबाट यसअघि फेसबुक धेरै चलाउँथिन् ।

अनि दोस्रोमा भाइबर तथा जिमेलमा उनको हात जान्थ्यो । बेलाबेलामा आफन्तसँग फोनमा कुराकानी मोबाइलबाट हुन्थ्यो । मनोरञ्जन लिन पनि मोबाइल नै । यस्तै प्रयोजनका लागि उनको महँगो मोबाइल चल्थ्यो तर अब उनको दैनिकी फेरिएको छ ।

उनका थुप्रै मोबाइल एप्लिकेसनको भीडमा अहिले ‘कृषि घर’ भनिने नयाँ एप्स थपिएको छ । अब उनको पहिलो हात कृषि घरमा जाने छ । शनिबार यही एप्स चलाइरहेका बेला ऊ सँग भेट भयो ।

“खेतीबाली सम्बन्धी गतिविधि मात्रै होइन रोग किरा र त्यसको नियन्त्रणका उपाय सबै रहेछन्, यो त हामी किसानलाई ठूलै फाइदाको कुरा हो,” उनले एप्स देखाउँदै भनिन् – “अहिले बोडी घरमा छ । त्यही बोडीको बारेमा हेरिरहेकी ।”

कृषि घर एप्लिकेसन चलाउन उनले राम्ररी सिकिन् पनि । समस्या र समाधान मात्रै होइन कृषि विज्ञको सम्पर्क नम्बरसमेत रहेकाले खेतमै बसेर सबै काम गर्न सकिने देखिएको उनले बताइन् । चितवनमा बसेर अन्य जिल्लाका गतिविधिसमेत मोबाइलबाटै हेर्न सकिन्छ ।

उनको १० कट्ठा जग्गा छ । तिल, धान, तोरी र मुसुरो लगाउँदै आएकी छिन् । यसअघि खेती बालीमा रोग किरा देखिए कृषि कार्यालय पुग्नुपथ्र्यो उनलाई । फोन फेला नपारे धाउनुको विकल्पै थिएन तर यो नयाँ मोबाइल एप्स हालेपछि सानातिना कुरा खेतबाटै समाधान गर्न सकिने भएको छ ।

अर्की किसान धना अधिकारीले बीचैमा भनिन् – “मोबाइलमा हेरेर कृषिसम्बन्धी धेरै जानकारी पाइयो । बालीमा लाग्ने रोग पनि हेर्न पाइने रहेछ । ठूलो फाइदा हुनेरहेछ ।” उनको खेतमा पनि धान, मकै लाग्छ । रोग किराले विगतमा धान भसक्कै बिग्रिएको अनुभव उनीसँग छ । कृषि सेवा केन्द्रमा धाएर बल्ल बल्ल प्रविधिज्ञलाई ल्याउँदासम्म ढिला भइसक्थ्यो ।

“अब यो झन्झट चाहिँ नहोला जस्तो छ,” मोबाइलमा रहेको कृषि घरका जानकारी हेर्दै उनले भनिन् – “किसानलाई साँच्चै नै यसले सहयोग गर्छ ।”

“अब बाली लगाउँदा पहिले मोबाइल हेर्छु अनि काम अघि बढाउँछु,” उनले भनिन् । चितवन तरकारी, खाद्यान्न बाली र फलफूल उत्पादनका दृष्टिले अब्बल जिल्ला भएकाले पनि एप्सको प्रयोग आवश्यक छ ।

उनीहरु जस्तै १४ जना किसानले कृषि घरबारे जानकारी लिएका छन् । उनीहरुमार्फत गाउँगाउँमा जानकारी दिइने छ । किसानले कुनै समस्याको प्रश्न पठाए यसले उत्तर पनि दिने भएकाले किसानलाई सहज बनाउने धनाको भनाइ छ ।

कृषकलाई प्रविधिसँग जोड्न यो एप्स ल्याइएको हो । कृषि मन्त्रालय कृषि विभागअन्तर्गत कृषि सूचना तथा सञ्चार केन्द्रले यो एप्स ल्याएको हो ।

अनुसन्धानबाट प्राप्त उन्नत तथा उत्पादनशील कृषि प्रविधिको जानकारी र असल सिकाइहरु किसान समूहबीच हस्तान्तरण गर्न एप्स उपयोगी छ । यसमा सम्भावना र समस्याबारे किसानलाई जानकारी दिने व्यवस्था गरिएको छ । राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी)का एकीकृत जलवायुजन्य जोखिम व्यवस्थापन र आइसिटी इन एग्रिकल्चर नेपालको सहयोगमा उक्त एप्स किसानमाझ ल्याइएको हो ।

किसानले हातैमा जानकारी पाउने र समस्याहरु आफँैले पत्ता लगाउन सक्ने प्रविधि यो कृषि घरमा राखिएको युएनडिपीका वरिष्ठ आयोजना अधिकृत दीपक केसीले जानकारी दिनुभयो ।

उहाँले यो कृषि घर पहिलो पटक सिन्धुपाल्चोकका किसानलाई जानकारी दिएर चितवनमा दोस्रो पटक सार्वजनिक गरिएको बताउनुभयो । एवम् रितले पहिलो चरणमा नेपालका सात जिल्लामा यसलाई प्रयोगमा ल्याइने छ । यसपछि देशव्यापी पार्ने योजना रहेको केसीले बताउनुभयो । अहिले चितवन र सिन्धुपाल्चोकसहित दोलखा, सुर्खेत, धादिङ, स्याङ्जा र काभ्रेमा प्रविधि लैजाने गरी काम भइरहेको छ ।

कृषि घर मोबाइल एप्स नेपालका विभिन्न क्षेत्रमा किसान आफैँले आफ्नै मोबाइलमा डाउनलोड गर्न सक्नेछन् ।

आफ्नो क्षेत्र र बाली रोजेर समय, स्थान तथा सान्दर्भिक कृषि उत्पादनका लागि आवश्यक सूचना, जानकारी, प्रविधिसम्बन्धी सेवा प्रदायक निकायबाटै जानकारी प्राप्त हुन्छ । यसमार्फत श्रव्य दृश्य सामग्रीसहित बाली रोगका विभिन्न समस्या समाधानका उपाय किसानले नै पत्ता लगाउन सक्ने छन् ।

यस्तै, प्रयोग गर्नुपर्ने रासायनिक मल, विषादीको उचित प्रयोग, बाली व्यवस्थापन प्रविधिजस्ता अत्यावश्यक सामग्री मोबाइलमै हेर्न सकिने जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सोमनाथ घिमिरेले बताउनुभयो ।

कृषि व्यवसायमा मौसमको महत्वपूर्ण भूमिका हुने भएकाले उनीहरुले मोबाइलबाटै मौसमको जानकारी लिन सक्छन् । यस्तै उद्यमी तथा व्यावसायिक कृषक समूह, कृषि बजार तथा तरकारीको मूल्य सूचीसमेत यसमा राखिएका छन् ।

पचहत्तरवटै जिल्लाका महत्वपूर्ण गतिविधि र जानकारीसमेत एप्समार्फत नै हेर्न सकिने भएकाले किसानको साथी नै हुने एप्स बनाउने आइटीका विज्ञ हृदय कँडेलले बताउनुभयो ।

विसं २०११ देखि नै किसानका लागि भनेर बनाउन थालिएकामा अहिले पूरा भएको उहाँले जानकारी दिनुभयो । यहाँ प्राप्त सबै सूचना वैज्ञानिक भएको उहाँको भनाइ छ । कृषि मन्त्रालयअन्तर्गत कृषि सूचना तथा सञ्चार केन्द्रका प्रमुख मीनप्रसाद बुढाथोकी नेपाल जस्तो कृषि प्रधान देशमा यसको प्रयोगले किसानलाई मनग्य फाइदा पुग्ने बताउनुहुन्छ ।

आयस्रोत वृद्धि गरी किसानको जीवनस्तर उकास्न यो प्रविधि सहयोगी हुने विज्ञले बताएका छन् । यस्तै, यसबाट कृषि प्रसार सेवालाई प्रभावकारी बनाउन र कृषि प्रविधिलाई परिणाममुखी बनाउन सहयोग हुन्छ ।

किसानलाई उनीहरुको मागअनुसार शीघ्र प्राविधिक सेवा उपलब्ध हुनेछ ।

कृषि बिमा, सामयिक नीति र खेतीका कार्यविधिसमेत राखिएकाले किसानका लागि सहयोगी हुने कृषि सूचना तथा सञ्चार केन्द्रका प्रमुख मीनप्रसाद बुढाथोकीले उल्लेख गर्नुभयो ।

कसरी प्रयोग गर्ने ?

यो प्रयोग गर्न निकै सरल छ । एनड्रोइड मोबाइल भएका किसानले आफ्नो मोबाइलमा प्ले स्टोर एप्स खोल्ने । त्यसमा कृषि घर पचष्कजष् नजबच टाइप गरी सर्च गर्ने र डाउनलोड गर्ने । त्यसमा क्लिक गरेपछि मुख्य मेनु खुल्छ । त्यसमा ‘गृह पृष्ठ’, ‘जानकारीहरु’ र ‘मेरो कृषि’ तीन वटा अप्सन दिइएको हुन्छ ।

गृह पृष्ठ विभिन्न जानकारी, मौसम, कृषि डायरी, नयाँ जानकारी, तरकारी मूल्य, कृषि समाचार, जानकारी प्रदायक संस्था, सफलताका कथालगायत जुन मन लाग्छ त्यसमा गएर जानकारी लिन सकिने छ ।

यस्तै, जानकारीहरुमा प्रशिक्षण तालिम, विभिन्न तरकारीखेती, रोग किराबारे जानकारी लिन सकिने छ । बाली लगाउने तरिका र विभिन्न जानकारीमूलक विषय यहाँ पाइन्छ ।

आफूलाई चाहिएको विषय छानेर क्लिक गरेपछि पूर्ण जानकारी पाइने आइटी विज्ञ कँडेलले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *