आवास अनुदान सम्झौता सुरु

Post Date : April 12, 2017 | 9:11 am

खोटाङ, ३० चैत । भूकम्प गएको करिब दुई वर्षपछि खोटाङमा आवास निर्माणका लागि अनुदान सम्झौता गर्न सुरु गरिएको छ । भूकम्पबाट क्षतिग्रस्त आवास निर्माणका लागि मङ्गलबारदेखि रुपाकोट मझुवागढी नगरपालिकाबाट सम्झौता गर्न सुरु गरिएको हो ।

मझुवागढी नगरपालिका–१ का १८ घरधुरीबाट सुरु गरिएको अनुदान सम्झौताको काम केही दिनभित्रै अन्य गाउँपालिका र नगरपालिकामा विस्तार गरिने स्थानीय विकास अधिकारी राजनकुमार बिसीले बताउनुभयो । रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा स्थानीय विकास अधिकारी बिसीले लाभग्राही तोरण बजियमसँग पहिलो आवास अनुदान सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

भूकम्पीय आवास पुनःनिर्माणका लागि जिल्लाका साविक गाविसका सात हजार ४०३ लाभग्राही पहिचान भएलगत्तै आवास अनुदानको काम अघि बढाइएको छ । अन्य साविक गाविसको लाभग्राहीको सूची आउन बाँकी रहेको जिल्ला समन्वय समितिले जनाएको छ ।

भूकम्पपछिको पुनःनिर्माणका लागि खोटाङलाई रु १३ करोड रकम प्राप्त भएको बिसीको जानकारी दिनुभयो । सम्झौतालगत्तै आवश्यक कागजात पेस गर्ने लाभग्राहीलाई पहिलो किस्तामा रु ५० हजार, डिपिसीको काम सकिएपछि दोस्रो किस्तामा रु एक लाख ५० हजार र छानो हाल्ने बेलामा तेस्रो किस्ताबापत रु ७५ हजार तथा शौचालय निर्माणपछि रु २५ हजार रकम खातामै उपलब्ध गराइने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (सिएलपिआइयु)का इन्जिनियर उदयनारायण ठाकुरले बताउनुभयो ।

जिल्लामा अहिलेसम्म लाभग्राहीको सङ्ख्या यकिन भइनसकेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । भूकम्पबाट जिल्लामा १३ हजार ३३३ घरमा क्षति पुगेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *