इन्भेष्टमेन्टको सेयर बाँडफाँड

Post Date : April 12, 2016 | 5:42 pm

काठमाडौँ, ३० चैत । नेपाल इन्भेष्टमेन्ट बैंकले साना लगानीकर्तालाई न्यूनतम दश कित्ता सेयर प्रदान गरेको छ ।

बैंकले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरेर एफपिओ सेयरमा लगानीकर्तालाई माग गरिएको सङ्ख्याको ३२.५ प्रतिशत र ठूला लगानीकर्तालाई ८.५ प्रतिशतका दरले बाँडफाँड गरिएको जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकलाई रु आठ अर्ब चुक्ता पुँजी पुरयाउन गरेको निर्देशनअनुसार बैंकले साधारण लगानीकर्तालाई एफपिओमार्फत लगानी गर्न आग्रह गरेको थियो । बैंककाअनुसार दश र २० कित्ता माग गर्नेलाई गोला प्रथाबाट १० कित्ता सेयर प्रदान गरेको छ भने ३० देखि ८० कित्ता आवेदन गर्नेलाई ३२.५ प्रतिशतका दरले सेयर बाँडफाँड गरिएको छ ।

त्यस्तै ९० देखि १८० सम्म आवेदन गर्नेलाई पनि १० कित्ता र १९० देखि दुई लाख कित्तासम्म आवेदन गर्नेलाई पनि ८.५ प्रतिशतका दरले मात्रै सेयर बाँडफाँड गरिएको छ ।

एफपिओमा एक लाख ६१ हजार १२० जनाले आवेदन दिएका थिए । त्यसमा ५६ हजार ५४२ जनाले भने रु ५० हजार भन्दा बढी रकमको सेयर माग गरेका थिए । अधिकतम दुई लाख कित्ता सेयर माग गर्ने २४ आवेदकलाई भने १७ हजार ३२ कित्ता सेयर प्रदान गरिएको छ ।

आवेदन परेको ४६औँं दिनमा सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक नागरिक लगानी कोषका निर्देशक रामकृष्ण पोखरेलले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *