इ–रिक्साबाट मनग्य आम्दानी

Post Date : September 8, 2016 | 1:52 pm

रौतहट, २३ भदौ । श्रीमान्को कमाइमा आश्रित यहाँका महिला यतिखेर इ–रिक्सा चलाएर आत्मनिर्भर बन्न थालेका छन् ।

श्रीमान्को कमाइमा भर पर्दै आएका चन्द्रपुर नगरपालिका क्षेत्रका कामकाजी महिलाका लागि यतिखेर इ–रिक्सा आम्दानीको स्रोत बन्न पुगेको छ । उनीहरुले महिला पनि श्रम गरेर जीविका चलाउन र आत्मनिर्भर बन्न सक्दछन् भन्ने सन्देश दिएका छन् ।

नगरपालिकाका १५ जना महिलाले इ–रिक्सा चलाएर मनग्य आम्दानी गरिरहेका छन् । दैनिक जीवनयापन चलाउन सजिलो भएको चन्द्रपुर नगरपालिका–७ की ३५ वर्षीया वसन्ती कुशवार बताउनुहुन्छ । “घरखर्च चलाउन अब श्रीमान्को भर पर्नुपर्दैन,” उहाँले भन्नुभयो ।

इ–रिक्साबाट दैनिक रु एक हजार २०० देखि रु एक हजार ५०० सम्म आम्दानी हुने गरेको अर्का इ–रिक्सा चालक मुनादेवी साह बताउनुहुन्छ । महिला घर बाहिर निस्कनु हुँदैन भन्ने परम्परागत मान्यतालाई यस पेसाले तोडेको उहाँको भनाइ छ ।

महिला चालकको हितलाई ध्यानमा राख्दै सवारी ऐनबारे प्रशिक्षण तथा पुनःतार्जगी तालिम दिन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विज्ञान बस्नेतले बताउनुभयो । महिला चालकलाई सडक नियम कानुन र दुर्घटनाबाट जोगिने उपाय तथा ट्राफिक नियमबारे तालिम दिने गरिएको छ ।

हाल चन्द्रपुर नगरपालिकामा करिब २०० को हाराहारीमा इ–रिक्सा सञ्चालनमा छन् । सवारी अनुमति प्राप्त गर्न कठिनाइ भएको महिला चालकको भनाइ छ । विद्यमान ऐन तथा कानुनलाई परिमार्जन गरी इ–रिक्सा सञ्चालन गर्न सहजता प्रदान गर्नुपर्ने उनीहरुको माग छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *