उपभोग्य वस्तु सहज बनाउनुपर्नेमा जोड

Post Date : August 28, 2016 | 6:38 pm

काठमाडौँ, १२ भदौ । व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले दसैँ, तिहार, छठ लगायत चाडमा दैनिक उपभोग्य वस्तु सहज बनाउनुपर्नेमा जोड दिएको छ ।

समितिका सभापति भीष्मराज आङ्देम्बेको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले महत्वपूर्ण चाडमा आपूर्ति व्यवस्था सहज नभएको विगतको अवस्थालाई स्मरण गरी अहिलेदेखि नै यसबारेमा सम्बन्धित पक्षसँग छलफल गर्ने निर्णय गरेको छ ।

समितिका सभापति आङ्देम्बेले महँगी र कालोबजारीले सीमा नाघ्दै गएको जनाउँदै यसको न्यूनीकरणका लागि समिति गम्भीर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “समितिभित्र पर्ने मन्त्रालयसँग समन्वयात्मक भूमिका खेलेर आपूर्ति व्यवस्थालाई सहज गराउन लाग्छौँ ।”

सांसद सुवासचन्द्र ठकुरीले समितिले उपभोक्ताको आवश्यकताको पूर्तिका लागि काम गर्नु आवश्यक रहेको बताउँदै संस्थानलाई प्रभावकारी बनाए मात्र आपूर्ति व्यवस्था सहज हुने उल्लेख गर्नुभयो ।

सांसद छाया शर्मा पन्तले समितिले आगामी दिनमा आफ्नो कामलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो । बैठकमा सांसद डा नारायण खड्का, आनन्दप्रसाद पौडेल, श्यामकुमार लिम्बू, आदित्यनारायण कसौधन, बुद्धिराम भण्डारी, राज्यलक्ष्मी श्रेष्ठ, रमेश लामा, सुवर्ण ज्वारचन लगायतले आपूर्ति व्यवस्थालाई सहज बनाउनका लागि आआफ्नो धारणा राख्नुभएको थियो ।

बैठकले कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न उपसमिति समेत गठन गरेको छ । सो अनुसार उद्योग उपसमितिका संयोजकमा नारायणबहादुर कार्की, वाणिज्य उपसमितिका संयोजक जनकबहादुर बुढा, आपूर्ति र उपभोक्ताहित उपसमिति संयोजकमा ठकुरी र महिला उद्यमशीलता विकास उपसमितिका संयोजकमा सांसद पन्तलाई जिम्मेवारी तोकिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *