ऊर्जा मन्त्रालयमा गुनासो सुनुवाइ संयन्त्र स्थापना, गुनासो सुनुवाइ नभए कारबाही गरिने

Post Date : October 3, 2016 | 5:18 pm

काठमाडौँ, १७ असोज । तपाईको घर तथा आसपासमा विद्युत्भार कटौतीको समय भन्दा बढी समय विद्युत् कटौती भएको छ, नो लाइट शाखामा फोन गर्दा फोन उठ्दैन वा उठाएर पनि कर्मचारीले काम नगरेमा अब चिन्ता होइन उजुरी गर्नोस् ।

अब सरकारले उपभोक्ताका यस्तै गुनासोलाई सम्बोधन गर्न उच्चस्तरीय संयन्त्र बनाएको छ ।

नो लाइट शाखामा काम गर्ने कर्मचारीको व्यवहार रुखो भएको, उनीहरुले उपभोक्ताको गुनासो सम्बोधन नगरेको, ट्रान्सफर्मर जलेको लामो समय भइसक्दा समेत मर्मत सम्भारमा ध्यान नदिएको जस्ता गुनासा बढेपछि सरकारले त्यसखालको संयन्त्र मार्फत उपभोक्ताको गुनासो सुनुवाइ गर्ने र गुनासोलाई सम्बोधन नगर्ने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन लागेको हो ।

ऊर्जा मन्त्रालयले गुनासो सुनुवाइ सम्बन्धी नयाँ व्यवस्था गरी आम उपभोक्तालाई जानकारी गराएको छ । विद्युत् आपूर्ति व्यवस्थालाई सरल सहज र भरपर्दो बनाउन सम्बन्धित निकायबाट भए/गरेका कार्यमा ढिलासुस्ती एवम अनियमितता र चुहावट भएको अवस्थामा सूचना प्राप्त गर्न ऊर्जा मन्त्रीको प्रत्यक्ष मातहतमा रहने गरी गुनासो व्यवस्थापन युनिट स्थापना गरिएको हो ।

तथ्यपरक र जायज सूचनामा तत्काल सम्बोधन गर्न ऊर्जा मन्त्री आफँैले आवश्यक कदम चाल्ने मन्त्रालयले जनाएको छ । सूचना उपलब्ध गराउने व्यक्ति तथा समूहको विवरण गोप्य राखिने समेत मन्त्रालयको भनाइ छ । (रमेश लम्साल) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *