ऋण असुली नहुँदा कर्जा लगानी घट्यो

Post Date : April 2, 2016 | 4:18 am

इलाम, २० चैत । समयमा ऋण असुली नहुँदा कृषि विकास बैंक इलाम शाखाले कर्जा लगानी घटाएको छ ।

विभिन्न व्यावसायिक प्रयोजनका लागि बैंकबाट रु ५० हजारदेखि एक करोडसम्म ऋण लिने ऋणीले समयमा ब्याज र साँवा रकम नबुझाउँदा नयाँले समेत ऋण पाउनबाट वञ्चित हुनुपरेको हो ।

शाखाबाट ऋण लिने ऋणीको सङ्ख्या ९०० छ । बैंकले हालसम्म रु २७ करोड ऋण लगानी गरेको छ । त्यसमा भाखा नाघेको ऋणीको सङ्ख्या २२५ रहेको छ । रु साढे चार करोड ऋण भाखा नाघेको छ ।

भाखा नाघेका ऋणीलाई साँवा र ब्याज बुझाउनका लागि पटकपटक लिखित र मौखिक रूपमा ताकेता गरे पनि अटेर गरिरहेकाले त्यस्ता ऋणीको नाम कालोसूचीमा राख्ने तयारी भइरहेको बैंकका कर्जा अधिकृत केशव कट्टेलले बताउनुभयो ।

उहाँका अनुसार बैंकले सबैभन्दा बढी कृषि/पशुपालनमा ४८ र उद्योगधन्दामा ५२ प्रतिशत ऋण लगानी गरेको छ । त्यसमा १६ प्रतिशत भाखा नाघेको ऋण छ ।

ऋण लिन तथा नयाँ पुरानो गर्दै आएका ऋणीका लागि बैंकमा व्यावसायिक योजनाको प्रस्तावसहित जग्गा धितो राम्रो स्थानमा भएको हुनुपर्ने र त्यस्ता ठाउँ उपयुक्त लागेको खण्डमा अनुगमन गरेर ऋण दिन सकिने बैंकले जनाएको छ ।

केन्द्रीय कार्यालयबाटै ऋण असुल नहुञ्जेल लगानी नगर्न निर्देशन आएकाले कर्जा लगानी रोकिएको बैंकले जनाएको छ । ऋण असुल नहुँदा बैंकको निक्षेप पनि घट्दै गएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *