ऋण सहकारी ऐन निर्माणको माग

Post Date : August 16, 2016 | 5:59 pm

काठमाडौँ, ३२ साउन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि. (नेफ्स्कुन) ले बचत तथा ऋण सहकारी ऐन निर्माण गर्नुपर्ने माग अघि सारेको छ ।

नेफ्स्कुनको २९औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सो ऐन नबनेसम्म हाल संसदमा विचाधाराधीन अवस्थामा रहेको सहकारी विधेयकमा बचत तथा ऋणसम्बन्धी छुट्टै परिच्छेद समावेश हुनुपर्नेमा जोड दिइएको थियो ।

समारोहमा नेफ्स्कुनका महासचिव पारिषोत पौड्यालले लेख्नुभएको ‘वित्तीय सहकारीको विधिशास्त्र’ पुस्तक राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष तथा सांसद केशवप्रसाद बडाललगायतका अतिथिले सामूहिक रुपमा लोकार्पण गरेका थिए । एघार परिच्छेदको सो पुस्तकमा वित्तीय सहकारीको परिभाषा, क्षेत्र र महत्व, नेपालको वित्तीय सहकारीको वृद्धि र विकासमा अन्तर्राष्ट्रिय साझेदारी, वित्तीय सहकारीको विधिशास्त्र, वित्तीय सहकारीका विकासका क्षेत्र, सञ्चालक समितिको क्षमता अभिवृद्धिका विषय र क्षेत्रलगायतका विषयमा चर्चा गरिएको छ ।

सो अवसरमा बचत तथा ऋण सहकारी संस्था (साकोस) अभियानमा क्रियाशील अनिरुद्र प्रधान तथा देवकी नेपाललाई नेफ्स्कुन अग्रज व्यक्तित्व सम्मान र सहकारी पुस्तक प्रकाशन गर्दै आउनुभएका लेखक केशव बडाललाई नेफ्स्कुन विद्धता सम्मान प्रदान गरिएको थियो । मोरङस्थित फडानी साकोसका चन्द्र गौतम र दोलखास्थित भविश्य निर्माण साकोसका कृष्णकुमारी बस्नेतलाई नेफ्स्कुन संस्थापक अध्यक्ष पुरस्कार प्रदान गरिएको थियो ।

यस्तै सङ्घको विकासमा सहकार्य गर्दै आउनुभएका नेदरल्यान्ड्सका एग्रिटेरालाई नेफ्स्कुन राइफाइसन क्रेडिट युनियन सम्मानका साथै विभिन्न व्यक्ति तथा संस्थालाई अन्य सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । विसं २०४५ मा २८ बटा बचत समूहबाट सुरु भएको नेफ्स्कुनमा हाल ७३ जिल्लाका दुई हजार ५०० भन्दा बढी संस्था आवद्ध छन् । सरकारी तथ्याङ्कअनुसार हाल नेपालमा १३ हजार ४६० बचत तथा ऋण सहकारी संस्था क्रियाशील छन् ।

समुदायको हित, संरक्षण र प्रवर्द्धनका लागि उपयुक्त कानुन निर्माण गर्न राज्यसँग बहस पैरवी गर्ने र बचत तथा ऋण सहकारीको प्रवर्द्धन, विकास, व्यवसायीकरण र गुणस्तर वृद्धि गर्ने उद्देश्यले स्थापना भएको सो संस्थाले हाल काठमाडौँ महानगरपालिकाभित्र १०० बटा साकोस छनोट गरी अनुगमन गरेको र त्यसको नतिजा हेरी भविश्यमा देशभर अनुगमन कार्यलाई अघि बढाउने योजना बनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *