एउटै याममा दुई लाख आम्दानी

Post Date : May 12, 2017 | 4:09 pm

रामपुर (पाल्पा), २९ वैशाख । रामपुर नगरपालिका–६ विजयपुरकी अगुवा कृषक निर्मला पोखरेल गोलभेँडा बिक्रीबाट एउटै याममा रु दुई लाख बराबरको आम्दानी गर्नुभएको छ ।

एक रोपनी जग्गामा लगाएको गोलभेँडाबाट उहाँले सो आम्दानी गर्न सफल हुनुभएको हो । उहाँले अमिता र सिर्जना जातको गोलभेँडा लगाउनुभएको छ । विगत तीन वर्षयता पोखरेलले व्यावसायिक रुपमा तरकारीखेती गर्दै आउनुभएको छ ।

उहाँ भन्नुहुन्छ – “थोरै जग्गामा सोचेभन्दा पनि तेब्बर उत्पादन भयो” – “बजारमा पनि गोलभेँडाको बिक्री मूल्य राम्रै पाइयो, व्यवसायबाट एकदमै सन्तुष्ट छु ।”

गोलभेँडाखेतीसँगै उहाँले काँक्रा, घिरौला, लौका, करेला, सिमी जातका तरकारी दुई रोपनी जग्गामा लगाउनुभएको छ । अहिले उहाँले गोलभेँडा प्रतिकिलो रु ४०, घिरौला रु ७०, काँक्रा रु ४० र करेला रु ८० मा घरबाटै बिक्री गरिरहनुभएको छ ।

उत्पादन बढेपछि उहाँले एक रोपनीबाट विस्तार गरेर तीन रोपनीमा गोलभेँडाखेती विस्तार गर्ने सोच बनाउनुभएको छ । “व्यवसाय नगर्दासम्म घरखर्च र बालबच्चाको पढाइ खर्च चलाउन धौधौ थियो, तरकारी खेती सुरु गरेपछि सबै सहज भएको छ,” उहाँले भन्नुभयो ।

घरखर्च, दुई छोराको पढाइ खर्चबाट बाँकी रहेको रकम उहाँले सहकारीमा बचत गर्दैआउनुभएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *