एकासी हजार पर्यटकद्वारा निकुञ्जको भ्रमण

Post Date : June 24, 2016 | 1:17 pm

रत्ननगर (चितवन), १० असार । यस आर्थिक वर्षको ११ महिनामा ८१ हजार आठ सय १३ पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् ।

उनीहरुमध्ये सौराहा नाका हुँदै ७१ हजार २०४ जना तथा बाँकी १० हजार ६०९ पर्यटक अन्य सात नाकाबाट प्रवेश गरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । सौराहामा सुविधायुक्त होटल तथा सेवा सुविधा राम्रो भएकाले अधिकांश पर्यटकले सौराहा नाका प्रयोग गर्ने गरेका हुन् । “गएको एक वर्षमा ८७ प्रतिशत पर्यटकले सौराहा नाका हुँदै निकुञ्ज घुमेको पाइएको छ,” निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले भन्नुभयो ।

सौराहासँगै सुनाचुरी, खगेन्द्रमल्ली, घडगाई, कसरा, वनकट्टा, भिम्ले, लौखानी, अमलटारी र कजौली नाकाबाट पर्यटक निकुञ्ज प्रवेश गर्ने गरेका छन् । सौराहापछि कसराबाट पाँच हजार २०९, भिम्ले पोस्टबाट तीन हजार १४३, घडगाईंबाट २३४, वनकट्टाबाट १८३, लौखानीबाट २०२, अमलटारीबाट एक हजार हजार ५१२ तथा कजौलीबाट १२७ जना पर्यटकले निकुञ्ज घुमेका छन् ।

निकुञ्ज प्रवेश गरेका पर्यटकबाट करिब रु १२ करोड राजस्व सङ्कलन भएको छ । निकुञ्जका रेन्जर ऋषिराम ढकालका अनुसार साउनदेखि जेठसम्म निकुञ्ज घुम्नेमा ४२ हजार १५१ पुरुष र ३९ हजार ६६२ जना महिला पर्यटक रहेका छन् । “रु आठ करोड राजस्व प्रवेश शुल्कबाट उठेको छ,” उहाँले भन्नुभयो । चैत महिनामा सबैभन्दा बढी रु एक करोड ८६ लाख ४४ हजार राजस्व सङ्कलन भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *