एक करोडको लागतमा शान्तिडाँँडामा बुद्धको विशाल मूर्ति स्थापना

Post Date : June 10, 2016 | 2:48 pm

भक्तपुर, २८ जेठ । भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटको शान्तिडाँडामा बुद्धको विशाल मूर्ति स्थापना गरिएकोे छ ।

यहाँको ८० रोपनी क्षेत्रफलमा स्थानीय बासिन्दाको पहलमा २०७० सालबाट सुरु भएको बुद्ध मूर्ति स्थापनालगायतका संरचना निर्माण कार्य सम्पन्न भएको छ ।

विभिन्न स्वदेशी तथा विदेशी दाता, स्थानीय बासिन्दा, नगरकोट नगरपालिका, जिल्ला विकास समिति, सांसद विकास कोषलगायतको सहयोगबाट बुद्धको विशाल मूर्तिसँगै अन्य संरचना निर्माण भएको हो ।

करिब रु एक करोडको लागतमा वरिपरि ढुङ्गाको पर्खाल लगाएर बीचमा बुद्धको मूर्ति स्थापना गरी अन्य संरचनाहरु निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो ।

शान्तिडाँडामा जान सडकबाट खुट्किला निर्माण गर्नुका साथै वातावरण एवम् भ्यू प्वाइन्टको दृष्टिकोषले आकर्षक बनाइएको, सुविधासम्पन्न पर्यटकीय शौचालय, दुईवटा ढुङ्गेधारा, बनाइएको छ भने वनभोज स्थल र अन्य संरचनाहरु धमाधम निर्माण भइरहेका छन् ।

यहाँका सार्वजनिक जग्गाको व्यापक अतिक्रमण भएपछि यसको संरक्षण गर्ने र पर्यटकीय आकर्षकको क्षेत्र बनाउने उद्देश्यले स्थानीय बासिन्दा जुटेर संरचना निर्माण थालिएको अध्यक्ष लामाले बताउनुभयो ।

यस क्षेत्रलाई बौद्धमार्गीहरुको ध्यान केन्द्रका रुपमा विकास गर्ने, सोध केन्द्र बनाउने र नगरकोटको तल्लो क्षेत्रलाई पनि आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यका साथ मूर्ति स्थापना गरिएको उहाँको भनाइ थियो ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष एवम् मूर्ति स्थापना उपभोक्ता समितिका सदस्य दीपक लामिछानेले नगरकोटको पर्यटकीय विकासलाई अझै विस्तृत बनाउने योजनाअनुसार बुद्ध मूर्ति स्थापना गरेको बताउनुभयो । उहाँले यसबाट आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि गराउने दाबी गर्नुभयो ।

सांसद कोषको समेत सहयोग रहेको यस क्षेत्रका बारेमा भक्तपुरका सांसद प्रेम सुवालले अत्यन्तै राम्रो कार्य भएको भन्दै सार्वजनिक जग्गा, जलवायु र वातावरण संरक्षणमा यसले टेवा पु¥याउने बताउनुभयो ।

अर्का सांसद अनुराधा थापामगरले नेपालको संस्कृतिलाई जीवन्त राख्न, बुद्ध नेपालमै जन्मेको हो भन्ने विदेशी पर्यटकलाई जानकारी दिन र बौद्ध दर्शनसम्बन्धी अध्ययन केन्द्रका रुपमा यसलाई विकास गर्नुपर्ने औँल्याउनुभयो ।

अर्का सांसद रामेश्वर ढुङ्गेलले यहाँ भूक्षय नियन्त्रण गर्न र विश्वकै नमुना इ˗लाइब्रेरीका रुपमा समेत यसलाई विकास गरेर लैजानुपर्नेमा जोड दिनुभयो ।

जिल्ला विकास समिति, भक्तपुरका स्थानीय विकास अधिकारी ध्रुव कोइरालाले जिल्लामै नमुना र आकर्षकका रुपमा बौद्ध मूर्ति स्थापना भएको चर्चा गर्दै सबै नगरपालिकामा यस प्रकारको संरचना निर्माण गर्न सके सबै नगरपालिकालाई पर्यटकीय गन्तव्यको क्षेत्र बनाउन सकिने बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *