एक महिनामा नेप्से १८० अंकले गिरावट आई २ खर्ब पूँजी घट्यो

Post Date : February 10, 2017 | 6:21 pm

नेप्से लगातार घट्ने क्रम अझै जारी रहेको छ। सुधारको कुनै सूत्र अझै फेला परेको छैन भन्दा हुन्छ। एक महिनामा एक दुई सेसेन बजार बढेर बन्द भएको थियो भने बाँकी सेसन घट्ने क्रम कायमा नै रह्यो। बियरिस प्रवृतिमा बजार निकै तल झर्ने हुनाले हामीले खासै अचम्म मान्नु पर्ने केही छैन तर यसरी बजार घटी राख्दा लगानीकर्ताको सम्पत्तिमा भारी गिरावट आउँछ। गत हप्ताको नेप्सेको महत्वपूर्ण सूचकहरु विश्लेषण गर्दा केही नतिजा निकाल्न सकिन्छ।

१. नेप्से सूचाङ्क

नेप्से सूचाङ्क आर्थत इन्डेक्स एक महिनादेखि साइडवेजमा हिँडिररेको थियो, साइडवेज भन्नाले सिधा रेखा बनाएर थोरै घट्ने र थोरै बढ्ने क्रममा थियो। गत हप्ता मंगलबारदेखि भारी अंकले घट्न सुरु भयो र साताको अन्तिम दिन पनि २१.४७ अंकले घटेर बजार बन्द भयो। यो क्रम कति र कहिलेसम्म जाने हो भन्न सक्ने अवस्था भने छैन र बजार तत्काल बढ्ने संकेत पनि बजारले दिएको छैन।

माथि चित्रमा नेप्सेको एक महिना अघिको बजार साइडवेजमा हिँडेको देखिन्छ। बजार १४०० र १५०० अंकको बिचमा हिँडिरहेको थियो। यस्तो अवस्थालाई हामी लगानीकर्ताले हेर र पर्खको अवस्था भन्दछौँ। बजार फेरि बुलिस होला भन्ने आशले खरिद बिक्री कार्य कम हुन्छ। यस्तो बेलामा दुबै खरिद र बिक्रीकर्ता थाकेको अवस्थामा पनि हुन्छन् र केही हदसम्म धैर्य गरेर बजार फर्किने दिन कुरेर बस्दछन्। तर यो अवस्था सँधै स्थिर रहन सक्दैन र कि बुलले बाजी मार्छ र बढ्न सक्छ, कि बियरिस ट्रेन्ड कायम रहेर फेरि ओरालो लाग्न थाल्छ। मंगलबारदेखि फेरि बजार बियरिस लय समाउन पुगेको छ।

उल्लेखित चित्र गत हप्ताको बियरिस बजारको सूचाङ्क देखाउँदछ। आइतबार र सोमबार (२२ र २३ जनवरी) बजार स्थिर देखिन्छ र मंगलबार (२४ जनवरी) बजार एक्कासी घट्न सुरु भएको देखिन्छ। त्यस पछिका दिनमा बजार निरन्तर ओरालो लागेर १४०० भन्दा तल इन्डेक्स आएको छ। बिहीबार बजार बन्द हुँदा सूचाङ्क १३७५.१४ कायम रह्यो। अहिले तरलता अभाव भएको मौकामा बैंकहरुले १०% भन्दा माथि मुद्दतीमा अफर गरेका कारण पनि बजारमा नयाँ र पुराना दुबै लगानीकर्ता आकर्षित भएको देखिँदैन। आगामी दिनमा बजार अझै तल जाने अनुमान लगाउन सकिन्छ किनकी बढ्ने कुनै त्यस्तो ठोस् आधार अझै बजारमा देखिएको छैन।

२. कारोबार रकम

बजारको अवस्था मापन गर्ने अर्को आधारभूत सूचक कारोबार रकम पनि हो। कारोबार रकमले स्टकको माग कतिको छ र नयाँ लगानीकर्ताको प्रवेश भएको छ वा हालकै लगानीकर्ताले बजारमा गतिविधि बढाएका छन् भनेर हेर्न सकिन्छ।

कारोबार रकम हेर्ने हो भने, औसतमा ३०-३२ करोडको कारोबार भएको देखिन्छ। यो एक महिनामा प्रभु बैंकको प्रमोटर सेयरको १७-१८ करोडको कारोबार भएको थियो। २७ माघमा ५७ करोडको कारोबार भए पनि, ३ वटा म्युचुयल फन्डको १५ करोडको कारोबार भएको थियो। यसलाई हामी नियमित नमान्ने हो भने जम्मा ४२ करोडको कारोबार भएको हो। हुन त अहिले नेप्सेमा अफ सिजन लागेको बेला भनेर कारोबार कम देखिए पनि, १४०० इन्डेक्स हुँदा १ अर्ब भन्दा माथिको कारोबार हुन्थ्यो। अहिले ठूला र म्युचुयल फन्डले लगानी नगरेका कारण पनि कारोबार रकम कम भएको मान्न सकिन्छ। बजारको अवस्था हेर्दा अहिले नयाँ संस्थागत र ब्यक्तिगत लगानीकर्ताको प्रवेश भएको देखिँदैन। कारोबार रकम कम हुनुको कारण बैंक तथा बित्तीय संस्थाहरुले तरलता अभावको कारण देखाउँदै १२% भन्दा माथि मुद्दतीमा प्रस्ताव गरेका छन्, त्यसैले पनि नेप्सेमा अहिले बाहिरबाट कम मात्रामा लगानी भएको छ। हालका लगानीकर्ताले पनि आफूसँग भएको रकम मुद्दतीतिर लगानी बढाएका छन्। अर्को कारण अहिले बैंक र इन्स्योरेन्स कम्पनीहरुले जारी गरेको हकप्रद र FPO पनि हो। NLIC को ४ अर्बको FPO को लागि ५२ अर्ब रुपैयाँ आवेदन परेर त्यतातिर लगानी भएको छ। बजार ओरालो लाग्ने क्रम जारी रहेका कारण पनि ठूला लगानीकर्ता, म्युचुअल फन्ड, नयाँ र हाल बजारमा रहेका लगानीकर्ताले डरका कारण लगानी गरेका छैनन् वा अझै घटेपछि राम्रो कम्पनीको शेयर किन्ने भनेर कुरेर बसेको जस्तो देखिन्छ।

३. बैंकिङ इन्डेक्स

नेप्सेमा उतार चाढाव ल्याउने सेन्सिटिभ इन्डेक्सले हो र त्यसमा बैंकिङ समूहको हिस्सा ठूलो भएका कारण बैंकको शेयर मूल्यमा तल-माथि हुँदा समग्र नेप्से इन्डेक्स नै प्रभावित हुन्छ। एक महिनामा बैंकिङ इन्डेक्स घटेको देखिन्छ। बैंकिङ समूहको शेयरको मूल्य बुल रन हुँदा पनि खासै बढेको भने थिएन र अहिले बियरिस हुँदा भने झन् घटेको देखिन्छ।

एक महिनामा बैकिङ इन्डेक्स १७९ अंकले घटेको छ। बैंकिङ समूह १७९ अंकले ओरालो लाग्दा समग्र नेप्से १८० अंकले ओरालो लगेको छ। बैंक र समग्र नेप्से बिचको सेन्सिटिभिटी निकै नजिक छ। बैंकको पूँजी बृद्धि योजनाले अहिले बैंकिङ समूहको शेयरको सप्लाई साइड धेरै भएका कारण पनि लगानीकर्ताको बैंकतिर आकर्षण छैन। २०७४ असार मसान्तसम्म ८ अर्ब पूँजी पुरयाउन अझै पनि राइट बोनस र मर्जरको प्रक्रियामा रहेका कारण कारोबार बढे पनि शेयर मूल्य बढ्न भने सकेको छैन। एक महिनामा प्रभु बैकको सबै भन्दा धेरै कारोबार भयो, भरखर कारोबार फुकुवा भएको, पुस मसान्तमा NPA ५% भन्दा मुनी कायम गर्न सफल, अर्धवार्षिक रिपोर्ट अनुसार बिग्रेका ऋण उठाउन सफल भएर १ अर्ब ११ करोड खुद नाफा आर्जन र शेयरको मूल्य सस्तो भएका कारण प्रभुको कारोबार धेरै भएको मान्न सकिन्छ।

                                     चित्रमा नेप्से सुचाङ्क र सेन्सिटिभिटी

४. बिमा तथा अन्य समुहको इन्डेक्स

एक महिनामा सबै भन्दा धेरै अंकले घट्नेमा इन्स्योरेन्स समूह रहेको छ। एक महिनामै १५४५ अंकले इन्स्योरेन्स समूह घटेको छ। पछ्छिलो बुल रन इन्स्योरेन्स र माइक्रो फाइनान्सका कारण आएको थियो भने अहिले घट्ने क्रममा सबै भन्दा धेरै घट्नेमा इन्स्योरेन्स र माइक्रो फाइनान्स रहेको छ।

इन्स्योरेन्सको पूँजी बृद्धि योजना अहिले तत्काल नआउने भएको करण पनि इन्स्योरेन्स कम्पनीको शेयरमा भारी गिरावट आएको हो। अहिले इन्स्योरेन्सले आँफै पूँजी बृद्धि गर्दै लैजाने क्रममा FPO लाई पूँजी बृद्धिको रुपमा अगाडि सरेका छन्। NLIC ले भर्खरै FPO जारी गरेको छ भने शिखर र प्रिमियर इन्स्योरेन्सले धितोपत्र बोर्डमा अन्तिमा स्वीकृति कुरेर बसेका छन्, यसरी बजार मूल्यभन्दा सस्तोमा शेयर पाइने लोभमा इन्स्योरेन्स समूह प्रभावित भएको मेरो अनुमान रहेको छ।

अन्य समूहमा हेर्ने हो भने जलविद्युत समूह पनि १८८ अंकले घटेको छ। अहिले जलविद्युत समूहले शेयर होल्डरहरुलाई खासै राम्रो प्रतिफल दिन नसकेका कारण पनि यो समूहको शेयरको मूल्य घटेको हो र यो क्रम जारी रहनेछ भन्ने मेरो विश्लेषण रहेको छ। होटेल समूह २६७ अंकले घटेको छ भने, उत्पादन क्षेत्र मात्र ५८ अंकले बढेको छ। युनीलिभर नेपाल लिमिटेडको शेयरको मूल्य बढेका कारण पनि उत्पादन समूहको शेयरको मूल्य बढेको थियो।

समग्रमा नेप्से १८० अंकले गिरावट आउँदा कुल बजारको पूँजी पनि २ खर्ब जतिले घटेको छ। धेरै गुमाउनेमा बिमा समूहका रहे भने कमाउनेमा उत्पादन समूहका रहे। बैकिङ क्षेत्रको रकमको हिसाबले धेरै कारोबार भयो र प्रभु बैंकको कारोबार सबैभन्दा धेरै भएको थियो। बजार बियरिस ट्रेन्ड कायमा रह्यो र बजार १३०९ अंकतिर झरेर फेरि बढेर १३८९ पुगेको थियो तर अहिले १३०९ इन्डेक्स भन्दा तल १२९६ अंकमा नेप्से आएको छ। यस्तो हुँदा बजार ततकाल बाउन्स ब्याक गर्ने सम्भावना देखिँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *