एक हजार व्यवसायीले दैलोमै बुझाए आयकर

Post Date : August 29, 2016 | 6:06 pm

फलेवास (पर्वत), १३ भदौ । हजारौँ रुपैयाँ खर्चेर आयकर बुझाउन पोखरा जान बाध्य पर्वतका व्यवसायीको समस्यालाई मध्यनजर गर्दै जिल्लामा नै आयकर बुझाउने सुविधाबाट दुई दिनमा यहाँ झन्डै एक हजार २७ व्यवसायीले आयकर बुझाएका छन् ।

जिल्लास्थित उद्योग वाणिज्य सङ्घको समन्वयमा आन्तरिक राजस्व कार्यालय पोखराले सदरमुकाम कुश्माबजारमा आयकर सङ्कलन गर्ने व्यवस्था मिलाएपछि गत शनिबार र आइतबार एक हजार २७ व्यवसायीले आयकर बुझाएका हुन् ।

उक्त सङ्घको अनुरोधमा आएको टोलीले आव २०७२/७३ को व्यापारिक फर्मको प्यान नं नवीकरणबाट रु २२ लाख पाँच हजार ६०४ राजस्व सङ्कलन गरेको हो । गत आवमा रु २० लाख २७ हजार २०० सङ्कलन गरेको थियो ।

सदरमुकाम कुश्माबजारका ८४२ र वारिबेनीमा १८५ व्यवसायीले आयकर बुझाएको पर्वत उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष केदारनाथ शर्माले जानकारी दिनुभयो ।

गत आवमा एक हजार १०० ले आयकर बुझाएका थिए । यस वर्ष नगरपालिका स्थापना भएको र करको दायरासमेत बढेकाले गत वर्षभन्दा राजस्व सङ्कलन वृद्धि भएको पर्वत उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

जिल्लामा नै कर बुझाउने व्यवस्था गर्दा व्यापारीलाई ठूलो राहत मिलेको र पोखरा जाने झन्झट नभएका पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले बतानुभयो ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *