एटीएमको जोखिम कसरी कम गर्ने ?

Post Date : November 8, 2016 | 4:48 pm

नेपालमा जसोजसो बैंकिङ प्रणाली आधुनिक सेवा र सुविधातर्फ ढल्कँदै छ, त्यससँगै प्रविधिजन्य जोखिम पनि बढेका छन् । पछिल्लो समयमा सबैभन्दा ठूलो जोखिम एटीएम सेवामा बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म नेपालका बैंक तथा वित्तीय संस्थाले ४६ लाख ५७ हजार थान डेबिट कार्ड, ५२ हजार क्रेडिट कार्ड र ८२ हजार प्रिपेड कार्डहरू वितरण गरिसकेका छन्, ती कार्डबाट देशभरि रहेका हजार एटीएम बुथबाट पैसा निकाल्न सकिन्छ । यसबाहेक विभिन्न सुपरमार्केटसहितका पसल वा सेवामा भुक्तानी गर्न सकिन्छ ।

एटीएमलाई प्राविधिक हिसाबले सुरक्षित मानिँदै आएकोमा पछिल्लो समयमा यो ह्याकरहरूको निशाना बनेको छ । एटीएम कार्डमा सुक्ष्म क्यामेरा जडान गरी नक्कली एटीएम कार्ड बनाइ त्यसबाट पिन नम्बर ह्याक गरी पैसा झिक्ने गरेको प्रकरणबाहेक भर्खरै पिन कोड नै चोरी गरेर एटीएम ह्याक गरेको डरलाग्दो समाचार सार्वजनिक भएको छ । यो प्रकरणमा सहभागी बुल्गेरियन र रोमानियनलाई त प्रहरीले प्रक्राउ गरेको छ तर एटीएमको जोखिम भने कम भएको छैन ।

प्रहरीले सबै एटीएम प्रयोगकर्तालाई आफ्नो पिनकोड परिवर्तन आग्रह गरेको छ, तर यो नै एटीएम सुरक्षाका लागि पर्याप्त छैन । युरोपियन एटीएम सेक्युरिटी टिम (इस्याट)ले सन् २०१५ मा युरोपमा भएका एटीएम फ्रड’को अध्ययन गरी दिएका केही सुझावलाई नेपालका बैंकरहरूले पनि अपनाए जोखिम कम हुनसक्छ ।

१. कारोबारको निगरानीः बैंकहरूले आफ्नो आईसीटी सुरक्षा शाखालाई परिचालन गरी एटीएम कार्डहरूमार्फत भएका अस्वभाविक कारोबारको निगरानी गर्नु जरुरी छ । एटीएम कार्डबाट ठूलो रकम झिक्ने, एकै दिन पटक–पटक एटीएम ‘हिट’ गर्ने तर पैसा ससानो रकममात्र झिक्ने, विगतमा कम कारोबार (ट्रान्जेक्सन) गरेका ग्राहकले हरेक दिन अत्याधिक एटीएम प्रयोग गरेकोजस्ता अस्वाभिक गतिविधि देखिए सम्बन्धित ग्राहकसँगको सम्पर्कसहित प्रहरीलाई खबर गर्नु उपयुक्त हुन्छ ।

२. एटीएम बुथहरूमा सुरक्षा निगरानी बढाउनेः बढीजसो एटीएम ह्याकका घटना सुरक्षाकर्मी वा सीसीटीभी नभएका स्थानहरूमा भएको प्रहरी अनुसन्धानले देखाएको छ । त्यसैले बढी कारोबार हुने स्थलहरूमा सुरक्षा निगरानी बढाउनै पर्छ ।

३. नेटवर्क एटीएम निशानामाः बढीजसो नेटवर्क एटीएमहरू ह्याकरको निशानामा भएको पाइएको छ । त्यसैले आधुनिक नेटवर्क सुरक्षा प्रणाली अपनाउनु नै उत्तम उपाय हो ।

४. एचडी–थ्री सिक्टी सीसीटीभीः खर्च कम गर्ने नाममा सस्तो र आउटडेटेट भर्सनको सीसीटीभी प्रयोग गर्दा त्यसले जोखिमको अनुपात पनि बढाउँछ, त्यसलै हाइडेफिनेसन (एचडी) र सबैतिरका दृष्य निगरानी गर्ने थ्री सिक्टी सीसीटीभी प्रयोग गर्नु सबैभन्दा उत्तम उपाय होे ।

५. सफ्टवेयर अपग्रेडः एटीएम सुरक्षाका लागि बैंकहरूले योसँग सम्बन्धित सफ्टवेयरलाई बढी आधुनिक र सुरक्षित बनाउनु अर्को मुख्य विधि हो ।

६. नियमित ग्राहक सचेतनाः एटीएम प्रयोगकर्ताहरूको बढ्दो संख्यासँगै कसरी सुरक्षित कारोबार गर्ने भन्ने विषयमा बैंकहरूले नियमितरूपमा ग्राहक सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । यसका लागि रेडियो, टेलिभिजन, पत्रपत्रिकाबाट जानकारीमूलक सूचनाहरू प्रवाहित गरिरहनु पर्छ ।

७. कारोबारको विवरण चेकजाँचः एटीएम प्रयोगकर्ताले समय–सयममा आफ्नो पिनकोड परिवर्तन गर्नुका साथै बैंकहरूबाट कारोबार विवरण (स्टेटमेन्ट) लिएर आफूले गरेको कारोबारसँग त्यसलाई भिडाउनु पर्छ । यदि शंकास्पद कारोबार देखिनेवित्तीकै बैंक र प्रहरीको साइबर क्राइम युनिटलाई जानकारी गराउनु नै उत्तम उपाय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *