एल.पी. ग्यासको सुरक्षा मापदण्डका लागि समिति गठन

Post Date : June 24, 2016 | 8:24 am

काठमाडौं, ९ असार । आपूर्ति मन्त्रालयले एल.पी. ग्यास उद्योगहरुले पूरा गर्नुपर्ने सुरक्षा मापदण्ड पूरा गरे नगरेको सम्बन्धमा स्थलगत अनुगमन एवं छानविन गरी सुधारका उपायहरु सहितको प्रतिवेदन पेश गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।

एच.पी. ग्यास उद्योगको एल.पी. ग्यास शिलिण्डर विष्फोटबाट गत जेठमा ललितपुरमा तीनजनाको मृत्यु भएको घटनालाई समेत ध्यानमा राखी यस किसिमका दुर्घटना शून्य गर्न अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्थाका लागि सुझाव दिन समिति गठन गरिएको आपूर्ति मन्त्रालयले जनाएको छ ।

आपूर्ति मन्त्रालयका उपसचिव अर्जुनराज पन्तको संयोजकत्वमा गठित समितिलाई अन्य मुलुकका एल.पी. ग्यास उद्योगहरुले एल.पी. ग्यासको संचय, ढुवानी र रिफिलिङ् गर्दा अपनाउनुपर्ने सुरक्षा व्यवस्था अध्ययन गरी नेपालमा ऐन नियममा गर्नुपर्ने सुरक्षा व्यवस्थाका बारेमा सुझाव दिन समेत कार्यादेश दिइएको आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्दराम रेग्मीले जानकारी दिनुभयो ।

समितिले काम शुरु गरेको मितिले दुई महिनाभित्र प्रतिवेदन बुझाउने सहसचिव रेग्मीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *