काठको ठेकीले बजार नपाउँदा पेसा सङ्कटमा

Post Date : June 15, 2017 | 1:17 pm

लमजुङ (बेसीसहर), १ असार । दोर्दी खोलाको किनारैमा जस्ताको छाना मात्र भएको सानो टहरा छ । टहराभित्र काठका मुढा लडिरहेका छन् । मुढालाई सुम्सुम्याउँदै कहिले यता कहिले उता पल्टाउने कृष्णबहादुर विकलाई फुर्सद नै छैन । लामो फलामको छिनो, धारिलो टुप्पो अलिकति कोप्रिएको, त्यही छिनोले काठका मुढा कोट्याएर मनग्य आम्दानी ।

कुमालेको चक्रजस्तै घुम्ने बिजुली मेसिनमा काठका मुढा घुमाउँदै कृष्णबहादुर बिहान, दिउँसो र साँझ ठेकी बनाउने कारखानामा व्यस्त हुनुहुन्छ । १६ वर्षको उमेरदेखि बुबा जुठे विकसँग सीप सिकेर पेसामा लाग्नुभएका विक करिब चार दशक काठको ठेकी बनाएरै बितेको बताउनुहुन्छ ।

ठेकीबाट भएको आम्दानी विकको घरखर्चमा मात्रै सीमित छैन, उहाँले आफ्ना छोराछोरीको शिक्षामा लगानी गर्नुभएको छ । “तीन छोरा विदेशमा छन्, माइलो छोरा अहिले त्रिभुवन विश्वविद्यालयमा एमए पढ्दैछ”, उहाँ भन्नुहुन्छ, “ठेकी बेचेर नै पढाएको हुँ ।”

काठको ठेकी अहिले प्रतिमानाको रु ३०० मा बिक्री हुन्छ । “एक मानादेखि २२ माना सम्मका ठेकी बनाउछु”, उहाँ भन्नुहुन्छ, “एउटा ठेकीबाट रु सात हजारसम्म आम्दानी हुन्छ ।”

कृष्णबहादुरको ठेकी बनाउने पेसालाई आफ्नै भाइले साथ दिएका छन् । उहाँका भाइ मनबहादुर, राजेन्द्र र बुद्धिबहादुर पनि दाजुसँगै ठेकी बनाउँछन् । “जङ्गलमा काठ काट्ने देखि लिएर बिक्रीका लागि गाउँसम्म पु¥याउन भाइले साथ दिएका छन्”, उहाँले भन्नुभयो । दही जमाउने ठेकीबाहेक सुरही, पुचै, पुङ ठेकी, तुम्वा लगायतका सामग्री बनाउने उहाँ बताउनुहुन्छ ।

“मेरो त उमेर पनि सकियो, काठको ठेकीमै जम्यो जिन्दगी, पढेको छैन, जति जानेको छु बुबाले नै सिकाउनुभयो”, उहाँ भन्नुहुन्छ, “अब छोराहरु यो पेसामा बाँच्न सक्दैनन् ।”

पहिले ठेकी बनाउन निकै समस्या थियो । पानीबाट मेसिन चलाएर ठेकी बनाउनु पथ्र्यो, अहिले बिजुलीबाट चल्ने मेसिन छ । “वनबाट काठ ल्याएपछि दैनिक पाँचवटासम्म ठेकी बनाउन सकिन्छ,” विकले भन्नुभयो । पर्याप्त ठेकी बनाउन सकेपनि पछिल्लो समय काठका ठेकी बिक्री हुन छाडेको विकले गुनासो गर्नुभएको छ । ठेकी बिक्रीका लागि टाढा टाढा गाउँमा जानुपर्ने उहाँ बताउनुहुन्छ ।

“पहिला पहिला ठेकी मगाउन घरमै आइपुग्थे, अहिले गाउँलेको घरमै पु¥याउँदा पनि खरिद गर्न छाडेका छन्,” विकले भन्नुभयो, “अधिकांश गाउँले सहरतर्फ झर्ने र गाउँमा गाई–भैँसी पाल्ने किसान नहुँदा ठेकी बिक्री गर्न समस्या भएको छ ।”

ग्रामीण क्षेत्रमा किसानले दही जमाएर मोही पार्ने र राख्ने सामग्रीका रूपमा ठेकीको प्रयोग हुँदै आएकामा अहिले पशुपालन कम हुन थालेपछि यसको प्रयोगमा कमी आएको हो । हिजोआज प्लास्टिक तथा धातुका सामान प्रयोग हुन थालेपछि काठको ठेकी लोप हुने अवस्थामा पुगेको हो ।

पछिल्लो समय बिक्री वितरणमा कमी हुने र पर्याप्त काठ नपाउने हुँदा पनि ठेकी बनाउने पेसा सङ्कटमा परेको छ । ठेकी बनाउनका लागि दार, कटहर, खिर्रो लगायतका काठको प्रयोग हुन्छ । हिजोआज ती काठ कम पाइने र कालीगढसमेत नपाइने हुनाले पनि ठेकीको प्रयोगमा कमी आएको हो । फेरि ठेकी बनाउन समय धेरै लाग्ने र परिश्रम अनुसारको मूल्य नपाइने भएकाले पनि कालीगढले ठेकी बनाउन कम गरेका छन् । (सन्देश पौडेल) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *