काठमाडौँ महानगरमा निजी क्षेत्रको सहकार्यम सौर्य प्रणाली जडान हुँदै

Post Date : June 26, 2017 | 5:38 pm

काठमाडौँ, १२ असार । काठमाडौँ उपत्यकालाई उज्यालो बनाउने लक्ष्यका साथ काठमाडौँ महानगरपालिका र निजी क्षेत्रको सहकार्यमा धमाधम सौर्य बत्ती जडान भइरहेको छ ।

यही महिनाको अन्त्यसम्म एक हजार २८५ वटा सौर्य प्रणाली जडान हुने महानगरले जनाएको छ ।

महानगरभित्रका मुख्य–मुख्य सडकलाई उज्यालो र झिलिमिली बनाउने लक्ष्यका साथ सौर्य बत्ती जडान कार्य धमाधम अगाडि बढाइएको र त्यसमा महानगरको लगानी नपर्ने उल्टै फाइदा हुने प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।

महानगरले काठमाडौँको सडक झिलिमिली बनाउनका लागि वि के ट्रेर्डस एन्ड सप्लायर्सलाई सौर्य प्रणाली जडान गर्ने जिम्मा दिएको छ ।

दैनिक रातको समयमा २० देखि ३० वटा सौर्य प्रणाली जडान भइरहेको छ । सार्वजनिक निजी साझेदारी अन्तर्गत सप्लायर्सले २०७३ साल कात्तिकदेखि सडकमा सौर्य प्रणाली जडान गरिरहेको हो । सो सप्लायर्सका प्रमुख रोशन श्रीवास्तवले करिब रु पचास करोडको लागतमा प्रणाली जडान भइरहेको राससलाई जानकारी दिनुभयो ।

महानगरलाई फाइदै फाइदा

उहाँका अनुसार महानगर क्षेत्रमा जडान गरिएका सडक बत्ती आगामी दश वर्षपछि महानगरको स्वामित्वमा आउने छ । महानगरले उपलब्ध गराएको स्थानमा प्रवद्र्धकले प्रतिपोल रु आठ हजार ७०० वार्षिक शुल्क र विज्ञापनबापत रु सात हजार २०० महानगरलाई उपलब्ध गराउनेछ । त्यसबापत प्रवद्र्धकले सौर्य बत्तीको पोलमा विज्ञापन राख्न पाउनेछ ।

हालसम्म महानगरका सडकमा ५६० वटा सौर्य बत्ती जडान गरिसकिएको छ भने असार मसान्तसम्म सबै जडान हुनेछन् । हाल जडान भएको सौर्य प्रणालीमा लिथियम ब्याट्री प्रयोग भएको छ भने आगलागी प्रतिरोधक पोल राखिएको प्रमुख श्रीवास्तव बताउनुहुन्छ ।

दश मिनेट सामान्य रुपमा घाम लागेपनि राति बल्ने प्रणाली जडान भएको जानकारी दिँदै उहाँले हालसम्मकै अत्याधुनिक ‘सोलार सिस्टम’ प्रयोग भएको बताउनुभयो । वर्षात्को समय कतिपय स्थानमा सडक पेटी नभएको र नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीका कारण बत्ती जडानमा केही समस्या आएको प्रमुख श्रीवास्तवले जानकारी दिनुभयो ।

आफूहरुले प्राधिकरणसँग पनि समन्वय गरेर काम गरिरहेको केही स्थानमा बत्ती जडानको समय विद्युत् कटौती गरेर भए पनि सहयोग हुने विश्वास राखेको उहाँको भनाइ छ । महानगरको कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कृष्णपाउरोटी चोक, ज्ञानेश्वर, गौशला, पुरानोबानेश्वर, चाबहिलमा सौर्य बत्ती यसअघि नै जडान भइसकेको छ ।

त्यस्तै कलङ्की, त्रिपुरेश्वर, थापाथली चोक, माइतीघर चोक, केशरमहल चोक, ठमेल क्षेत्र, क्षेत्रपाटी, सोह्रखुट्टे चोक, बालाजु,नयाँ बसपार्क क्षेत्रमा ४०० बत्ती जडान गरिनेछ । दरबारमार्ग महेन्द्र सालिक चोक, काठमाडौँ प्लाजा, कृष्णपाउरोटी चोक, ज्ञानेश्वर चोक, मैतिदेवी, बत्तीसपुतली सडकखण्ड, मैतिदेवी डिल्लीबजार पुतलीसडक खण्डमा ३०० बत्ती जडान हुनेछ ।

महानगरका प्रवक्ता कार्कीकाअनुसार पुरानो बानेश्वर चोकबाट नयाँ बानेश्वर, शङ्खमूल पुल, तीनकुने, कोटेश्वर, जडीबुटी, नरेफाँट, पुरानो बानेश्वर, भिमसेन गोला हुँदै सिनामङ्गल चोकसम्म ३८५ वटा सौर्य बत्ती राखिनेछ ।

यसैगरी अनामनगर हनुमानस्थान, बिजुली बजार, नयाँ बानेश्वर खण्ड, गौशला, चाबहिल, चुच्चेपाटी, बौद्ध हुँदै जोरपाटीसम्म २०० बत्ती जडान गर्ने लक्ष्य राखिएको छ ।

पुराना बल्न छाडे

काठमाडौँ उपत्यकामा चर्को विद्युत्भार कटौतीको समयमा नै सौर्य प्रणाली जडान गर्ने कार्य सुरु भए पनि विविध कारणले रोकिँदै आएको थियो । तर दक्षिण एसियाली क्षेत्री सहयोग सङ्गठन(सार्क)को शिखर सम्मेलनको क्रममा जडान भएका सौर्य प्रणाली बल्न बन्द भइसकेका छन् ।
उचित मर्मत सम्भारको अभावमा ती प्रणाली बन्द भएका हुन् ।

बन्द भएका बत्ती मर्मत गर्न लागिएको महानगरका प्रवक्ता कार्की बताउनुहुन्छ । सौर्य प्रणाली जडानपछि सडकबत्ती प्रयोग गरेबापत महानगरले तिर्नुपर्ने रकम समेत कम हुने महानगरको विश्वास छ । तर जथाभावी रुपमा सौर्य प्रणाली जडान गर्दा सहरी सौन्दर्य भने बिग्रने भन्दै सरोकार भएकाले चिन्ता व्यक्त गरेका छन् ।

सरकारले त्यस्ता प्रणाली हटाउन चाहे प्राविधिक मूल्याङ्कन गरेर आवश्यक निर्णय गरिने प्रवक्ता कार्कीको भनाइ छ । (रमेश लम्साल) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *