काभ्रेपलाञ्चोक दूधमा आत्मनिर्भर हुँदै

Post Date : May 10, 2016 | 6:20 pm

बनेपा, २८ वैशाख । काभ्रेपलाञ्चोक दूध, अण्डा र मासु उत्पादनमा आत्मनिर्भर हुन थालेको छ ।

जिल्लामा उत्पादन भएका अण्डा, दूध र मासुजन्य पदार्थ निर्यात हुन थालेपछि आत्मनिर्भर घोषणा गर्न किसानले आवश्यक तयारी थालेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । यहाँका कृषकले वार्षिक एक लाख १३ हजार ६२ मेट्रिक टन दूध उत्पादन गरेका छन् । बत्तिस प्रतिशत जिल्लामा खपत हुन्छ भने बाँकी बाहिर निर्यात भएको जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष नारायण बडालले जानकारी दिनुभयो ।

त्यस्तै अण्डा दुई करोड २० लाख सात हजार उत्पादन हुने गरेको छ भने मासुजन्य पदार्थ आठ हजार ९११ मेट्रिक टन उत्पादन भएर बाहिरी जिल्लामा समेत निर्यात भएको पशु चिकित्सक मणि सापकोटा बताउनुहुन्छ । “केही प्रक्रिया पुरा गरेपछि जिल्लालाई आत्मनिर्भर घोषणा गर्छौँ” उहाँले भन्नुभयो । जिल्लामा गाई एक लाख ३६ हजार ४८५, भँैसी एक लाख ३० हजार ९९९, भेडा तीन हजार ६५२, बाख्रा दुई लाख ८९ हजार ६७६, कुखुरा चार लाख र बङ्गुर १३ हजार ६५८ रहेको तथ्याङ्कमा उल्लेख छ ।

पशु बिमा समितिका अध्यक्ष दीपक पौडेलले दूध, मासु र अण्डामा आत्मनिर्भर भए पनि केही समस्या रहेकाले त्यसलाई सरकारले सम्बोधन गरेर अघि बढनुपर्ने बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *