कामपाको राजस्वमा रु बत्तिस करोड वृद्धि

Post Date : July 19, 2016 | 5:32 pm

काठमाडौँ, ४ साउन । आर्थिक वर्ष २०७१/७२ को तुलनामा आव २०७२/७३ मा काठमाडौँ महानगरपालिकाले रु ३२ करोड बढी राजस्व सङ्कलन गरेको छ ।

अघिल्लो आवमा रु एक अर्ब ४६ करोड राजस्व सङ्कलनको लक्ष्य राखेका कामपाले रु एक अर्ब ११ करोड ९९ लाख रकम असुल गरेको थियो । त्यसैगरी गत आवका लागि रु एक अर्ब ५८ करोड २० लाख लक्ष्य रहेकामा रु एक अर्ब ४३ करोड १८ लाख ४८ हजार मात्र रकम असुल गरेको छ ।

आम्दानी समग्रमा बढे पनि शीर्षकगत रुपमा भने राजस्व सङ्कलन त्यति राम्रो रहेको पाइँदैन । जस्तै मालपोत, घरजग्गा, सवारी, ब्यानर, बसपार्क, पसल बहाल, आकासे पुल, सव वे कर गत वर्षको तुलनामा घटेको छ भने मनोरञ्जन, व्यवसाय, घरबाहल, नक्सा जरिवानाजस्ता शीर्षककमा भने आर्थिक सङ्कलन बढेको छ ।

कामपाले यस वर्ष पनि लक्ष्यअनुरुपको राजस्व सङ्कलन गर्न नसक्नुको प्रमुख कारण भूकम्प र लामो समयसम्म भएको नाकाबन्दी भएको महानगरपालिकाका राजस्व विभाग प्रमुख राज्य प्रकाश प्रधानाङ्ग बताउनुहुन्छ । भूकम्पका कारण करिब पाँच हजार घर पूर्णरुपमा र सात हजार घर आंशिक रुपमा क्षति भएकाले ती घरका घरधनी र उक्त घरमा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीबाट कर असुल हुन नसकेकाले राजस्व सङ्कलनमा कमी आएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *