कालीगण्डकी प्रसारण करिडोरको सवस्टेसन निर्माण कार्य सुरु

Post Date : October 2, 2016 | 2:47 pm

फलेवास (पर्वत), १६ असोज । पर्वत, म्याग्दी र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण करिडोर आयोजनाको काम सुरु भएको छ ।

आयोजनाकोे २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानाखण्डको काम शनिबारदेखि सुरु भएको हो । आयोजनाको पर्वतको खुर्कोटस्थित २२०/१३२/३३ केभी सवस्टेसनको निर्माण कार्य औपचारिक रुपमा सुरु भएको आयोजनाले जनाएको छ ।

पर्वतको कुश्मा नगरपालिका–४ खुर्कोटमा स्थापना हुने सवस्टेसनको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले शिलान्यास गर्नभएको छ ।

आयोजनाले निर्माण थालेको प्रसारण करिडोरको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानाखण्ड ३९ किलोमिटर लामो हुनेछ । विद्युत् प्रसारण लाइनका साथै सवस्टेसन निर्माणका लागि रु दुई अर्ब ६० करोड खर्च हुने आयोजनाका प्रमुख चन्दनकुमार घोषले जानकारी दिनुभयो ।

एसियाली विकास बैंकको सहयोगमा सञ्चालित कालीगण्डकी प्रसारण करिडोर आयोजनाको खुर्कोट–कुस्माखण्डको काम २८ महिनामा सम्पन्न गर्ने गरी सुरु भएको छ । तोकिएकै समयमा काम सम्पन्न गर्ने गरी निर्माण कार्यको थालनी भएको प्रमुख घोषले बताउनुभयो । आयोजनाको खुर्कोट–दाना प्रसारण लाइन तथा खुर्कोट र दाना सवस्टेसनको कामको ठेक्का भारतीय कम्पनी टाटा प्रोजेक्ट एन्ड चिन्ट इलेक्ट्रिक जेभीले लिएको छ । आयोजना र ठेकेदार कम्पनीबीच मे ३० २०१६ मा सम्झौता भएको थियो । विसं २०७५ साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिनेछन् । खुर्कोटदेखि दानासम्म ११० वटा टावर रहने छन् ।

म्याग्दीमा निर्माणाधीन अवस्थामा रहेका १४ मेगावाट क्षमताको थापाखोला, चार मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला निर्माणाधीन अवस्थामा छन् भने ४० मेगावाटको राहुघाटलगायत दर्जनौँ आयोजना निर्माणको चरणमा छन् ।

सवस्टेसन निर्माणका लागि दानामा सय र खुर्कोटमा १५६ रोपनी जग्गा अधिग्रहण भएको छ भने नवलपरासीमा पनि सवस्टेसनका लागि जग्गा अधिग्रहण सकिएको आयोजना प्रमुख घोषले बताउनुभयो ।

खुर्कोटदेखि पर्वत, स्याङ्जा, पाल्पा र रुपन्देहीसम्मको प्रसारण लाइनका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको उहाँले बताउनुभयो ।

कालीगण्डकी प्रसारण करिडोर आयोजनाले कालीगण्डकी र सहायक नदीमा जलविद्युत् विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *