किसानलाई त्रिपन्न लाख अनुदान

Post Date : June 10, 2016 | 2:53 pm

रामपुर (पाल्पा), २८ जेठ । जिल्ला पशुसेवा कार्यालयले किसानलाई फार्म सुदृढिकरण कार्यक्रमअन्तर्गत रु ५३ लाख ३० हजार बराबरको अनुदान रकम वितरण गरेको छ ।

युवालक्षित विशेष गरी पशु उत्पादन र फार्म सुदृढीकरण कार्यक्रमअन्तर्गत आव २०७२/७३ मा गाई फार्मका लागि रु ६ लाख, पाँचवटा बङ्गुर फार्म र बाख्रा फार्मका लागि रु पाँच लाख, युवालक्षित बाख्रापालनतर्फ आठवटा व्यावसायिक फार्मका लागि रु आठ लाख, घाँसबाली उत्पादनतर्फ रु दुई लाख ६५ हजार, कुखुरा फार्म स्थापनाका लागि रु ५० हजार रकम अनुदानमा उपलब्ध गराएको छ ।

त्यस्तै सहकार्यमा पशुपालन कार्यक्रम सञ्चालन गर्न समूह, सहकारीलाई रु एक लाख, स्थानीय जातका कुखुरा संरक्षण कार्यक्रमअन्तर्गत रु एक लाख ५० हजार, साइलोपेटिक निर्माणतर्फ रु ५० हजार, भकारो सुधारतर्फ रु दुई लाख, पशुपक्षी बजार प्रवद्र्धन कार्यक्रमतर्फ रु ६ लाख, मझौला फार्मका लागि रु दुई लाख, साना फार्मका लागि रु १० लाख रकम किसानलाई उपलब्ध गराइएको पशु विकास अधिकृत डा चन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

किसान गणेश आचार्य कार्यालयले फार्म सुदृढीकरणका लागि अनुदान रकम उपलब्ध गराएपछि व्यवस्थित रुपमा गाई फार्म सञ्चालन गर्न पाएको बताउनुहुन्छ । पहिला परम्परागत रुपमा फार्म सञ्चालन गर्नुभएका उहाँले अहिले आधुनिक रुपमा फार्म निर्माण गरेर व्यवसाय गर्दैआउनुभएको छ । गाईलाई भन्दा उहाँले फार्म निर्माणमा बढी लगानी गर्नुभएको छ ।

विदेशिएका र विदेश जान लागेका युवालाई स्वदेशमै पशुपालनबाट प्रशस्त आम्दानी गरी जिल्लालाई पशुपालनमा आत्मनिर्भर बनाउन फार्म सुदृढीकरण गरी पशु उत्पादन बढाउन जोड दिइएको हो । युवाको विदेश पलायनको मोह कम गराइ जिल्लालाई देशमै नमुना पशु फार्मका रुपमा परिचित गराउन कार्यालयले फार्म सुदृढीकरण गरी पशु उत्पादन कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेर काम गर्दैआएको छ ।

पशुपालनमा आत्मनिर्भर बनाउनका लागि कार्यालयले व्यवस्थित र आधुनिक फार्म निर्माणका लागि अनुदान रकम सहयोग गरेपछि पशुपालनमा किसानको आकर्षण बढेको वरिष्ठ पशु विकास अधिकृत तुलसीराम भण्डारी बताउनुहुन्छ । “फार्म सुदृढीकरण कार्यक्रमले किसान व्यावसायिक पशुपालनमा आकर्षित हँुदै गएका छन्,” उहाँले भन्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *