कृषि यान्त्रीकरण दर ४० प्रतिशत

Post Date : June 6, 2016 | 5:30 pm

धनगढी, २४ जेठ । नेपालमा कृषि यान्त्रीकरण दर ४० प्रतिशत पुगेको एक तथ्याङ्क सार्वजनिक भएको छ ।

कृषि मन्त्रालयको पहलमा कृषि यान्त्रीकरण रणनीति तर्जुमाका लागि सुझाव सङ्कलन गर्न आइतबार यहाँ आयोजित गोष्ठीमा दिइएको जानकारीअनुसार दुई दशकयता कृषकले सरकारको कुनै लगानीबिना कृषि यान्त्रीकरणको प्रयोग र विस्तार बढाएको छ ।

कृषि यान्त्रीकरणमा भएको अभिवृद्धिसँगै देशको कुल खेतीयोग्य २६ लाख ५० हजार हेक्टर जग्गामध्ये १० लाख ३० हजार हेक्टर जग्गा कृषि यन्त्र अर्थात् ट्र्याक्टरबाट खनजोत गर्न थालिएकोे र कृषि यान्त्रीकरण दर तराई क्षेत्रमा ६१ प्रतिशत, पहाडमा १५ प्रतिशत र हिमालमा दुई प्रतिशत पुगेको तथ्याङ्कमा उल्लेख छ ।

गोष्ठीमा नर्मा कन्सल्टेन्सी प्रालिका डा वीरेन्द्रवीर बस्न्यातले यान्त्रीकरणबिना कृषिको आधुनिकीकरण असम्भव देखिएको महसुस गरी सरकारले कृषि यान्त्रीकरणका लागि रणनीति बनाउन लागेको बताउनुभयो ।

कृषिमा यान्त्रीकरण भइरहे पनि कृषकमा आवश्यक प्राविधिक ज्ञानको अभाव देखिएको बताइएको छ ।

कृषि यान्त्रीकारणसँगै खनजोत गर्दा हलो र कोदाली प्रयोग गर्नेहरु विस्तारै कम हुँदै गएको बताइन्छ । भौगोलिक बिकटताका कारण पहाडी क्षेत्रका अधिकांश किसानले हलो र कोदाली नै प्रयोग गर्नुपर्ने बाध्यता अझै छ ।

कृषि यान्त्रीकरणको अपरिहार्यतालाई महसुस गरी सरकारले विसं २०७१ मा कृषि यान्त्रीकरण प्रवद्र्धन नीति जारी गरिसकेको छ ।

यो नीतिले भौगोलिक उपयुक्तता, साना किसान मैत्री, महिला कृषक मैत्री र वातावरण मैत्री कृषि यन्त्रलाई प्राथमिकतामा राखेको छ ।

गोष्ठीमा कृषि यन्त्रमा कृषकको पहँुच र उपयोग वृद्धिका उपाय, कृषि यन्त्र आपूर्ति व्यवस्थालगायतका बारेमा सुझाव लिइएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *