केन्द्रको ध्यान नपुग्दा राजविराज औद्योगिक क्षेत्र लथालिङ्ग

Post Date : December 25, 2016 | 4:40 pm

सप्तरी, १० पुस । सप्तरीको बसबिटीमा रहेको गजेन्द्रनारायण सिंह राजविराज औद्योगिक क्षेत्र लामो समयदेखि लथालिङ्ग अवस्थामा छ ।

करिब २२ बिगाहा क्षेत्रफलमा फैलिएको सो औद्योगिक क्षेत्रका विभिन्न स्थानमा पर्खाल भत्किएका छन् भने जथाभावी रुख काटिने र गाईभैँसीलगायतका घरपालुवा जनावरले सो क्षेत्रमा लगाइएका बोट बिरुवा नष्ट गरिदिने गरेका छन् ।

हुर्किएका ठूला रुख काटेर चोरी गर्ने र जथाभावी व्यक्ति पसेर झैझगडा गर्ने गरेका कारण त्यहाँको सुरक्षा व्यवस्थामा समस्या रहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख सञ्जय थापाले गुनासो गर्नुभयो ।

बिदामा सो कार्यालयका कर्मचारीहरु औद्योगिक क्षेत्र बाहिर जाँदा स्थानीय बासिन्दाले विभिन्न किसिमका समस्या उत्पन्न गराउने गरेको कर्मचारीको गुनासो छ । हुलाक, स्वास्थ्य क्लिनिक, बैंक, अतिथिगृह चमेनागृह, विद्युत्, टेलिफोनलगायतका सुविधासहित १० वटा उद्योगको क्षमता भए पनि औद्योगिक क्षेत्रमा अहिले मिलन डेरी उद्योगमात्र सञ्चालनमा रहेको छ ।

कार्यालय प्रमुख थापाका अनुसार पहिले स्थापना भएका महालक्ष्मी खाद्य उद्योग, कृष्ण खाद्य उद्योग, पदम प्लास्टिक उद्योग, माँ भगवती कृषि उद्योग, फुड इन्डस्ट्रिज, अल नेपाल टि एन्ड कफी सेन्टर प्रालि, एस एन्डको इलेक्ट्रोनिक्स प्रालिलगायतका उद्योग बन्द भइसकेका छन् ।

उद्योग सञ्चालनका लागि औद्योगिक लगानी तथा वातावरण र औद्योगिक सुरक्षा बल आवश्यक रहेको बताउँदै उहाँले जिल्ला सुरक्षा समन्वय समिति, सप्तरीले यसबारे निर्णय गरेर पठाए पनि अहिलेसम्म कुनै पहल नभएको दुखेसो पोख्नुभयो ।

सो निर्णयबारे तीन महिना अगाडि जिल्ला सुरक्षा समन्वय समितिले गृह मन्त्रालयमा लेखी पठाएको जिल्ला प्रशासन कार्यालय सप्तरीको प्रशासन शाखाले जनाएको छ । सो औद्योगिक क्षेत्र भारत सरकारको लगानीमा दुई दशक अगाडि निर्माण भएको हो । एक दशक अगाडि भूमिगत समूहको चन्दा आतङ्क, असुरक्षा र बजार अभावका कारण त्यहाँका उद्योग पलायन भएका राजविराजका उद्योगी व्यवसायी बताउँछन् । (सुरेश झा) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *