केराबाट मनग्य आम्दानी

Post Date : November 10, 2016 | 4:58 pm

गाईघाट (उदयपुर), २५ कात्तिक । जिल्लाको पूर्वी क्षेत्रका किसानले यस वर्ष दसैँ, तिहार र छठपर्वको अवसरमा केरा बिक्रीबाट मनग्य आम्दानी गरेका छन् ।

पूर्वी क्षेत्रका तपेश्वरी, सुन्दपुर, हँडिया र जोगीदहका किसानले दसैँ, तिहार र छठपर्वमा केरा बिक्री गरी रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी गरेका तपेश्वरी–४ का विष्णुप्रसाद दाहालले बताउनुभयो ।

सबैभन्दा बढी मालबोक र चिनियाँ चम्पा जातको केरा बिक्री भएको छ । हँडिया क्षेत्रका किसानले प्रतिपरिवार रु २५ हजारदेखि रु ५० हजारसम्मको केरा बिक्री गरेका हँडिया–६ का किशोरदेव चौधरीको भनाइ छ ।

विगतका वर्षको तुलनामा यस वर्ष केरा उत्पादन वृद्धि भएको छ । यहाँ उत्पादन भएको केरा सदरमुकाम गाईघाट, बेल्टार, सप्तरीको कञ्चनपुर, फत्तेपुर र भारदह, मोरङको विराटनगर र सुनसरीको धरानसम्म खपत हुन थालेको छ । “व्यापारी केरा किन्न गाउँमै पुग्ने गरेका छन्,” तपेस्वरीका कपिलप्रसाद भट्टराईले भन्नुभयो ।

जिल्ला कृषि विकास कार्यालयका प्राविधिक मोहनलाल फुयाँल ६० प्रतिशत केरा पूर्वी क्षेत्रमा उत्पादन हुने गरेको बताउनुहुन्छ । करिब ५५ प्रतिशत केरा जिल्ला बाहिर खपत हुने गरेको छ । जिल्लामा १४५ हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ । जिल्लामा अटिया, मुङ्गे्र, मर्चे, कमिले, झप्री, रोगोष्टा, विलियम, हाइब्रिड, मालबोक र चिनिया चम्पा जातका केरा उत्पादन हुँदै आएको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *