कोषले तीन अर्ब बयासी करोड लगानी गर्ने

Post Date : August 24, 2016 | 7:02 pm

काठमाडौँ, ८ भदौ । गरिवी निवारण कोषले चालु आवमा विभिन्न जिल्लामा रु तीन अर्ब ८२ करोड २८ लाख ६६ हजार लगानी गर्ने भएको छ ।

सो बजेटअन्तर्गत दुई हजार ५६२ आयआर्जन, २०८ सामुदायिक भौतिक पूर्वाधार परियोजना, ७० पकेट क्षेत्र विकास र ६० सहकारी संस्था सञ्चालनमा सहयोग गर्ने कोषका कार्यकारी निर्देशक नहकुल केसीले जानकारी दिनुभयो । यस्तै भूकम्प प्रभावित १३ जिल्लामा चालु आवमा प्राथमिकताका साथ पुनःनिर्माणका कार्यक्रम सञ्चालन गरिने छ ।

काठमाडौँमा सम्पन्न कोषको ६३औँ सञ्चालक समितिको बैठकले उक्त बजेट तथा कार्यक्रमको अनुमोदन गरेको छ । चालु आवमा कोषसँग आवद्ध सहयोगी संस्थाको सङ्ख्यामा कटौती गरिने, अधुरा योजना पूरा गरिने र सामुदायिक संस्थाको परिपक्वताका आधारमा ती संस्थाको दिगोपनका लागि विभिन्न उपाय अवलम्बन गरिने निर्देशक केसीले जानकारी दिनुभयो ।

कोषका उपाध्यक्ष युवराज पाण्डेका अनुसार हालसम्म कोषले ५५ जिल्लामा २९ हजार सामुदायिक संस्था गठन गरी करिब आठ लाख विपन्न घरधुरीलाई कार्यक्रममा समेटेको छ । “कोषका कार्यक्रमबाट ७८ प्रतिशत महिला सदस्य लाभान्वित छन्,” उहाँले भन्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *