कोषले निवृत्तिभरण योजना सुरु गर्ने

Post Date : September 17, 2016 | 8:37 am

पोखरा, ३१ भदौ । कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई निवृत्तिभरण योजना सञ्चालन गर्ने भएको छ ।

कोषको ५५औँ वार्षिकोत्सवका अवसरमा कोषको शाखा कार्यालय पोखराद्वारा यहाँ आज आयोजित कार्यक्रममा शाखा प्रमुख विष्णु पौडेलले यसबाट निवृत्तिभरण नपाउने सङ्घसंस्था र संस्थानका सञ्चयकर्ता लाभान्वित हुने बताउनुभयो ।

व्यवस्थापिका–संसद्ले हालै पारित गरेकोे कोष नवाैँ संशोधन ऐनमा स्वास्थ्य सुविधा योजना पनि रहेको र त्यसबाट सञ्चयकर्ता बिरामी भएमा उपचार बापत कोषबाट सहयोग पाउने व्यवस्था गरिएको छ ।

कोषले आव २०७२/७३ को अन्त्यसम्मको एक वर्षका अवधिमा ११ सङ्घसंस्थाका करिब २०० कर्मचारी तथा कामदारको कोषकट्टी रकम कोषमा जम्मा गर्ने सम्झौता गरेको थियो । सो अवधिमा कोषले नौ हजार २९० सञ्चयकर्ता कर्मचारीलाई करिब रु एक अर्ब आठ करोड विशेष सापटी समेत वितरण गरेको छ ।

कार्यक्रममा कास्कीका प्रजिअ हरिप्रसाद मैनालीले सूचना र प्रविधिको विकाससँगै कोषले आफ्नो काम छिटोछरितो गर्दै अघि बढेको बताउँदै आगामी दिनमा आफ्ना कमजोरी सुधार्दै अघि बढ्न आग्रह गर्नुभयो । सो उपलक्ष्यमा आयोजित विभिन्न खेलकुद कार्यक्रमका विजयी कर्मचारीलाई पुरस्कार पनि वितरण गरिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *