क्यान्डीबाट आत्मनिर्भर बन्दै महिला

Post Date : March 17, 2017 | 4:59 pm

काभ्रे, ४ चैत । उग्रचण्डी नाला–५ स्थित नारी जागरण बचत तथा ऋण सहकारी संस्थाको एउटा कोठामा महिला लप्सीको गुदी मोल्नमा व्यस्त देखिन्छन् । उक्त गुदीबाट महिलाले विगत केही समयदेखि क्यान्डी बनाउँदै आएका छन् ।

सहकारीले स्वरोजगारका निम्ति महिलालाई केही समयअघि क्यान्डी बनाउने तालिम दिएको थियो । उक्त तालिम लिइसकेपछि नै आफूलाई क्यान्डी बनाउन सजिलो भएको ३२ वर्षीया शोभा गौतम बताउनुहुन्छ । कामको थालनी नाला पाउँ भण्डारको नामबाट सुरु गरिएको र फुर्सदको समयमा सो कामलाई निरन्तरता दिँदै आएको उहाँको भनाइ छ ।

“काम नहुँदा के गर्ने कसो गर्ने भन्ने जस्तो लाग्थ्यो, तालिम लिएपछि आत्मनिर्भर बन्न सजिलो भएको छ” गौतमले भन्नुभयो । हाल उहाँ क्यान्डीको बजार व्यवस्थापनको काम गरिरहनुभएको छ ।

त्यस्तै टुकुचा नाला–७ का ३० वर्षीय सुमित्रा घिमिरे विवाह गरेको १० वर्षपछि पारिवारिक सम्बन्ध राम्रो नभएका कारण माइतमा बस्न बाध्य हुनुभयो । उहाँले पढे पनि श्रीमान्ले नागरिकता नबनाइदिएपछि जागिरसमेत खान पाउनुभएन । उहाँसँग सीपको समेत अभाव थियो । आफूले केही गर्न नसकेकामा उहाँलाई सधैँ आत्मग्लानी महसुस हुने गथ्र्याे । नारी जागरण बचत तथा ऋण सहकारीबाट महिला आत्मनिर्भरतासम्बन्धी तालिम लिएपछि उहाँ हाल क्यान्डी बनाएर बिक्री गरी स्वरोजगार बन्नु भएको छ ।

“पहिला रुँदैमा दिन कटाउँथे, अहिले दिदीबहिनीसँगै काम गर्न थालेपछि स्वरोजगार बनेकी छु,” उहाँले भन्नुभयो । आत्मनिर्भर बन्न सकेकोमा घिमिरे निकै खुसी हुनुुहुन्छ । आयआर्जन गरेर सक्षम हुन सकेकामा शोभा र सुमित्रा औधी खुसी छन् । उनीहरुसँगै गाउँका अरु महिला समेत अहिले क्यान्डीमार्फत आयआर्जन गर्दैआएका छन् ।

बिहान बेलुका घरको काम सकेर महिलालाई क्यान्डीमार्फत आयआर्जन गर्न सजिलो भएको छ । पहिले घरबाट बाहिर निस्कन नसक्ने महिला अहिले क्यान्डी बनाएर बिक्री गरिरहेका छन् । उनीहरुले क्यान्डी बनाएर मासिक रु २० हजारभन्दा बढी आम्दानी गर्दैआएका छन् । नारी जागरण नेपाल नामक संस्थाले पीडित महिलाका लागि विभिन्न तालिम सञ्चालन गर्दैआएको छ । संस्थाका अध्यक्ष निर्मला श्रेष्ठ नेपालबाट युवा विदेश पलायन भइरहेको अवस्थामा स्थानीयस्तरमा रोजगार दिन समय समयमा तालिम प्रदान गर्दैआएको बताउनुहुन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *