क्यान निलम्बन अनुमोदन

Post Date : July 2, 2016 | 1:06 am

काठमाडौँ, १७ असार । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को साधारणसभाले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई निलम्बन गर्ने निर्णय अनुमोदन गरेको छ ।

स्कटल्यान्डमा बिहीबार बसेको आइसिसीको पूर्ण बैठक (साधारणसभा)ले नेपालबारे यसअघि भएको निर्णय अनुमोदन गरेको हो । नेपालसँगै अमेरिकाको क्रिकेट सङ्घसमेत निलम्बनमा परेको बताइएको छ । क्यानमा आन्तरिक विवादले चरम रुप लिएपछि आइसिसीले गत अप्रिलमा निलम्बन गर्ने निर्णय गरेको थियो । सो निलम्बनको निर्णयलाई साधारणसभाले अनुमोदन गरेपछि अब कारबाही प्रक्रिया लम्बिने भएको तर कति समय लम्बिने भन्ने खुलाइएको छैन ।

क्यानमा चतुरबहादुर चन्दको नेतृत्वको निर्वाचित समिति र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले रमेश सिलवालको नेतृत्वमा गठन गरेको तदर्थ समितिबीच विवाद लम्बिएपछि आइसिसीले हस्तक्षेप गरेको थियो ।

यसैबीच नेपाली क्रिकेटको पछिल्लो अवस्था बुझ्न आइसिसीको व्यवस्थापन टोली आगामी अक्टोबरमा नेपाल आउने भएको छ । अमेरिकामा आइसिसीका अध्यक्ष शशाङ्क मनोहर नेतृत्वको टोली जाने तय भइसकेको छ तर नेपाल आउने टोलीको टुङ्गो नलागेको बताइएको छ ।

निर्वाचित समितिका महासचिव अशोकनाथ प्याकुरेलले सो टोली यहाँ आएपछि समस्या समाधान गर्ने आशा व्यक्त गर्दै भन्नुभयो, “कसको नेतृत्वमा को नेपाल आउँछ थाहा छैन तर त्यसले हामीलाई न्याय दिने विश्वास छ ।”

प्रमखु कार्यकारी अधिकृत घिमिरेद्वारा राजीनामा

क्यानकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) भावना घिमिरेले आफ्नो पदीय जिम्म्मेवारीबाट बाहिर बस्ने निर्णय गर्नुभएको छ ।

उहाँले क्यान तदर्थ समितिका अध्यक्ष रमेश सिलवालसमक्ष आज राजीनामा दिनुभएको हो । घिमिरेले लामो समयदेखि क्यानमा विवाद भएका कारण आफूले भनेजस्तो काम गर्न नपाएको भन्दै राजीनामा दिएको बताउनुभएको छ ।

करिब छ महिनाअघि क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले क्यानलाई निलम्बन गरेको थियो । सिइओ घिमिरेले रासससँग कुरा गर्दै भन्नुभयो, “छ महिना भइसक्यो मैले जिम्मेवारीमा बसेरपनि राम्रोसँग काम गर्न नपाएको, अहिले क्यान निस्क्रिय छ, त्यसैले आइसिसीको अन्डरमा काम गर्नुपर्ने भन्ने छ, तर म भूमिकाविहीन अवस्थामा थिए, त्यही भएर यस्तो निर्णय लिएकी हुँ ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *