क्यासिनो नेपालको समस्या समाधान गर्न निर्देशन

Post Date : September 20, 2016 | 5:05 pm

काठमाडौँ, ४ असोज । व्यवस्थापिका संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिले क्यासिनो नेपाल/नेपाल रिक्रिएसन सेन्टरका पूर्व कर्मचारीका उजुरीका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, होटल सोल्टी, गृहमन्त्रालय र नेपाल प्रहरीलाई छलफलका लागि समितिमा बोलाएको छ ।

सो विषयमा अध्यययन गर्न गठित उपसमितिले समिति समक्ष दिएको प्रतिवेदनका आधारमा थप छलफल गरी निष्कर्षमा पुग्न ती निकायलाई बोलाउने निर्णय गरेको हो ।

समितिका सभापति सुशीलकुमार श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले तत्कालीन क्यासिनो नेपाल/नेपाल रिक्रिएसन सेन्टरका फरार सञ्चालक राकेश वाद्वालाई पक्राउ गर्न सरकारलाई निर्देशन समेत दिएको छ ।

होटल सोल्टीको प्राङ्गणमा रहेको सो क्यासिनो विसं २०६९ साउन महिनादेखि बन्द छ । आर डी टटल र राकेश वाद्वाबीचको विवादले क्यासिनो बन्द भएपछि त्यहाँ कार्यरत करिब एक हजार ६८ मजदुर बिचल्लीमा परेका छन् ।

ती मजदूरले आफूलाई तलब उपलब्ध गराइदिन निवेदन दिएकाले समिति सदस्य नरबहादुर थापा मगरको संयोजकत्वमा ओङ्दी शेर्पा, कमला दोङ, कौशर शाह र खड्बहादुर बस्यालको सदस्य रहनुभएको उपसमिति गठन गरेको थियो । सो उपसमितिले २०७३ भदौ ३१ गते समिति समक्ष आफ्नो प्रतिवेदन पेस गरेको थियो ।

सो प्रतिवेदनमा पर्यटन मन्त्रालयलाई क्यासिनो नेपालको समस्या समाधानका लागि पहल गर्न भनिएको छ । बैठकमा समितिका सदस्य अष्टलक्ष्मी शाक्यले क्यासिनो बन्द हुँदा मजदुरले रोजीरोटी गुमाउनु परेको हुँदा सरकारले तुरुन्त समस्याको समाधान निकाल्नुपर्छ भन्नुभयो ।

समितिका अर्का सदस्य कमला दोङले क्यासिनो बन्द हुँदा सोल्टी होटलले मजदूरलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभयो ।

बैठकमा समितिका सदस्य उषा यादव, कमलाकुमारी घिमिरे,उषा यादव र कमला दोङ्ले उपसमितिले दिएको प्रतिवेदनका सुझाव र सरकारी धारणा बुझेर समितिले निर्णय गर्न सुझाव दिनुभएको थियो । समितिको अर्काे बैठक असोज ९ गते बिहान ८ बजे बस्नेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *