खादा प्रयोग बारे बौद्धमार्गीको सामूहिक धारणा अाउने

Post Date : September 11, 2016 | 5:44 pm

काठमाडौं, २६ भदौ । पछिल्लो समय सतहीमा देखिएको खादा अर्थात खातकको बारेमा बौद्धमार्गीहरुले सामूहिक धारणा निर्माण गर्ने भएका छन् । शेर्पा पत्रकार संघ नेपालले सबै बौद्धमार्गीलाई एकै ठाउँमा राखेर अन्तर्क्रिया गर्ने भएका हुन् । राजधानीको बौद्धमा आयोजना गर्ने अन्तर्क्रियामा आदिवासी जनजाति महासंघ, शेर्पा संघ, नेपाल तामाङ घेदुग, मगर संघ, थारु, ह्याल्मो, नेवाः, गुरुङ जातिको जातीय संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा छलफल हुने जनाएको छ । भाद्र २९ गते विहान १० बजेबाट शुरु हुने अन्तर्क्रियाबाट विभिन्न समयमा बौद्धमार्गीको पवित्र वस्तु मानिएको खादामाथि भइरहेको चरणवद्ध आक्रमण र प्रतिबन्ध समेतको अवस्थाका सम्बन्धमा ठोस धारणा निर्माण गर्न सक्ने आयोजक संस्थाका सचिव आङ माया शेर्पाले जानकारी दिए ।

संघले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरेको अन्तर्क्रियाको प्रायोजन मलेसिया शेर्पा किदुगले गरेका छन् । नेपाल बौद्ध महासंघ, नेपाल तामाङ बौद्ध महासंघ, लगायत धार्मिक संस्थाका प्रतिनिधीहरुको समेत सहभागिता रहनेछ । कार्यक्रममा सहभागी भएर आफ्नो विचार व्यक्त गर्न संघले सबै बौद्धमार्गीहरुसँग अपिल गरेको सहसचिव फूला शेर्पाले जानकारी दिए ।

शेर्पा पत्रकार संघ–नेपाल, मुलुकभर छरिएर रहेको शेर्पा पत्रकारहरुको छाता संगठन हो । पत्रकारिता क्षेत्रमा क्रियाशिल आम पत्रकारहरुको पेशागत हकहित, व्यवसायिक सुरक्षा, नीति तथा कार्यक्रमहरुको सवलिकरण, आचार संहिताको नियमन, क्षमता तथा व्यक्तित्व विकासका लागि क्रियाशील संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *