खाद्य प्रविधि विभागद्वारा होटलको स्तरीकरण

Post Date : April 14, 2016 | 5:05 pm

काठमाडौँ, २ वैशाख । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालसम्म खाद्य गुणस्तरका आधारमा मुलुकभरका ६६८ होटल तथा रेस्टुराँको स्तरीकरण गरेको छ ।

विभागले प्रमुख राजमार्गका मलेखु, मुग्लिन, रामनगर, मनहरी, गैँडाकोट, कोहलपुर, चन्द्रपुर, इटहरी, विराटनगर, चिसापानी, अत्तरीयालगायतका स्थानमा अनुगमन गरी सो वर्गीकरण गरेको हो ।

विभागको आव २०७२/०७३ को दोस्रो चौमासिक प्रगति समीक्षा तथा आव २०७३/०७४ को योजना तर्जुमा गोष्ठीमा सो जानकारी दिइएको हो । उक्त वर्गीकरणअन्तर्गत उत्तमस्तरका ८६, मध्यमस्तरका ४१४ र न्यूनस्तरका १६८ होटल तथा रेस्टुराँ रहेको विभागका महानिर्देशक सन्जीवकुमार कर्णले जानकारी दिनुभयो ।

विभागका यी क्रियाकलापबाट उपभोक्ता वर्गमा खाद्य स्वच्छता र पोषणको ज्ञान विस्तार भएको तथा होटल स्टिकर वितरणमार्फत होटलको स्वच्छतामा अपेक्षित सुधार भएको महानिर्देशक कर्णले बताउनुभयो ।

विभागले क्षेत्रीय कार्यालय, क्वारेन्टाइन प्रयोगशाला र स्याउ प्रशोधन केन्द्र, जुम्लासमेत ११ कार्यालयबाट यस अवधिमा भएका क्रियाकलापको प्रगति विवरणका बारेमा जानकारी गराएको हो ।

यस अवधिमा खाद्य तथा दाना उद्योग, होटल रेस्टुराँ तथा राजमार्गका होटलमा ८३५ पटक अनुगमन गर्ने लक्ष्य रहेकोमा एक हजार ३७५ पटक अनुगमन निरीक्षण गरेको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी गराउनुभयो ।

त्यस्तै, विभागले यस अवधिमा तीन हजार ६३५ नमुना जाँच विश्लेषण गर्ने लक्ष्य रहेकोमा जम्मा सात हजार ९३८ नमुना जाँच विश्लेषण गर्नुका साथै मुलुकभर १९३ नयाँ खाद्य उद्योगलाई अनुज्ञापत्र, ४२५ उद्योगको अनुज्ञापत्र नवीकरण तथा २९५ खाद्य उद्योगलाई स्थापनाको लागि सिफारिस प्रदान गरेको छ ।

यस अवधिमा विभागले अनुगमनका क्रममा प्रशोधित पिउने पानी, प्रशोधित दूध तथा दुग्ध पदार्थ, तेल आदि खाद्यपदार्थअन्तर्गतका ५९ मुद्दा दायर गरेको छ ।

तीमध्ये विभागबाट चार, क्षेत्रीय कार्यालय हेटौँडाबाट ३१, धनगढीबाट १२, विराटनगरबाट पाँच, भैरहवाबाट पाँच र नेपालगन्जबाट दुईवटा मुद्दा दायर गरिएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *