खाद्य संस्थानकोे चामल खपत हुन छाड्यो, ७०० क्विन्टल मौज्दात

Post Date : July 12, 2016 | 12:15 pm

भोजपुर, २८ असार । नेपाल खाद्य संस्थान भोजपुरबाट वितरण हुने चामल पछिल्लो समय खपत हुन छाडेको छ ।

चामल खपत हुन छाडेपछि अघिल्लो वर्ष ढुवानी गरिएको चामल समेत गोदाममै सडिने अवस्थामा रहेको छ । विगत चार वर्ष अगाडि खाद्य संस्थानको चामल वितरण गर्नुपर्दा कर्मचारीलाई चामल लिन आउने भीड व्यवस्थापन गर्न निकै कठीन हुने भए पनि अहिले भने संस्थान सुनसान बनेको छ ।

पहिले चामल पाउनकै लागि जिल्लाका नेताको भनसुन र प्रमुख जिल्ला अधिकारीको सिफारिस लिएर खाद्य संस्थानमा भीड लाग्ने गरेकोमा आजभोलि दिनमा फाट्टफुट्ट एक दुई जना खाद्य संस्थानको गोदाममा पुग्ने गरेका छन् ।

आव २०७१/०७२ मा ठेक्कामार्फत एक हजार १०० क्विन्टल चामल खरिद गरिएको भए पनि हालसम्म खपत भइनसकेको संस्थानले जनाएको छ ।

चामल खपत नभएपछि प्रत्येक आवमा ढुवानी गर्नुपर्ने चामलको लागि टेन्डर आह्वान समेत गर्न छाडिएको छ । चामल खपत हुन छाडेपछि आव २०७३/७४ मा चामलको टेन्डर गर्ने कि नगर्ने भन्ने अन्योलमा संस्थान रहेको खाद्य संस्थानका कर्मचारी महेन्द्र आपगाईंले बताउनुभयो ।

गाउँ–गाउँसम्म यातायातको पहुँच पुगेसँगै उपभोक्ताको घर घरमा चामल पुग्न थालेपछि खाद्य संस्थानको चामल उपभोक्ताले प्रयोग गर्न छाड्दा सड्ने अवस्थामा पुगेको हो ।

भोजपुर कारागार र स्थानीयले क्रमशः २००/२०० क्विन्टल गरी ४०० क्विन्टल खपत भएकोबाहेक बाँकी ७०० क्विन्टल गोदाममै मौज्दात रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *