गरिमा विकास बैंक र शुभेच्छा विकास बैंक गाभिई एकीकृत कारोबार शुभारम्भ

Post Date : September 20, 2016 | 8:59 pm

पोखरा, ४ असोज । गरिमा विकास बैंक लिमिटेड र शुभेच्छा विकास बैंक लिमिटेड गाभिई आजदेखि एकीकृत कारोबार शुभारम्भ गरेका छन् ।

आज पोखरामा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले कारोबार शुभारम्भको औपचारिक उद्घाटन गर्नुभयो ।

एकीकृत कारोबारअन्तर्गत गरिमा विकास बैक लिमिटेडको अबको चुक्ता पुँजी एक अर्ब आठ करोड पाँच लाख पुगेको बैंकका कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैंकको निक्षेप रु ११ अर्ब ६० करोड र कर्जा १० अर्ब ६० करोड रुपैयाँ पुगेको छ । बैंकको मुख्यालयसहित ३७ शाखा पुगेका छन् ।

कार्यक्रममा गभर्नर नेपालले बैंक तथा वित्तीय संस्थाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार समयसापेक्ष आफ्नो कारोबार अघि बढाउनुपर्ने बताउँदै जनताको पैसा सुरक्षित गरी राम्रो सेवा प्रवाह गर्नुपर्ने दायित्वलाई मनन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

बैंकका अध्यक्ष दिलिपप्रताप खाँणले बैंकले वित्तीय प्रशासनलाई थप प्रभावकारीरुपमा अघि बढाउँदै सेवा प्रवाह गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डित, डेभलपमेन्ट बैंक एसोसिएसनका अध्यक्ष कृष्णराज लामिछाने, नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक चिरञ्जिवी चापागाइँलगायतले जनताको विश्वास जित्ने तबरबाट बैंकले सेवाको प्रभावकारिता वृद्धि गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *