गर्मीले भुरा उत्पादनमा ह्रास

Post Date : May 1, 2016 | 7:06 pm

लहान, १९ वैशाख । बढ्दो गर्मीसँगै केही समय यता सिरहामा माछाको भुरा उत्पादनमा ह्रास आएको छ ।

लामो समयदेखि वर्षा नभएको र गर्मीका कारण तापमानसमेत बढेकाले भुरा उत्पादनमा ह्रास आएको हो । मत्स्य विकास केन्द्रका मत्स्य विकास अधिकृत शुभकरण झाका अनुसार जलाशयमा रहेको पानी गर्मीका कारण तातेकाले भुरा उत्पादनमा समस्या हुँदै आएको छ ।

भुरा उत्पादनका लागि चैत र वैशाख महिना उपयुक्त मानिन्छन । यहाँको तापक्रम दैनिक ४० देखि ४२ डिग्रीसम्म पुग्ने गरेको छ । “गर्मी बढेकाले भुरा उत्पादनमा ह्रास आएको हो” उहाँले भन्नुभयो । चालु आव २०७२÷७३ मा मत्स्य विकास केन्द्रले विभिन्न जातका एक करोड भुरा उत्पादन गर्ने लक्ष्य लिएकामा ९ महिनाको अवधिमा ३० लाख मात्र उत्पादन भएको छ ।

यस्तै चालु आवमा १० लाख फ्राई माछा उत्पादन गर्ने लक्ष्य लिएकामा चार लाख तीन हजार मात्र उत्पादन भएको छ । यस्तै १० लाख फिङ्गर उत्पादन गर्ने लक्ष्य लिएकामा अहिलेसम्म तीन लाख मात्र उत्पादन भएको मत्स्य विकास अधिकृत झाले जानकारी दिनुभयो । मत्स्य विकास केन्द्रले करिब दुई बिघा क्षेत्रफलमा रहेका १६ वटा पोखरीमा कमन, बिगहेड, ग्रास, रहु, नैनी, भाकुर र सिलभर जातका माछाका भुरा उत्पादन गरी बिक्री गर्दै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *