गाउँमा नगद भित्र्याउने माध्यम बन्यो आलुखेती

Post Date : July 14, 2016 | 4:58 pm

बाबियाचौर (म्याग्दी), ३० असार । म्याग्दीको हिस्तान–३ का धन तिलिजाले गत हप्ता ४५ मुरी आलु पोखरा लगेर बेच्नुभयो । अघिल्लो वर्ष आलु बेचेर एक लाख ९० हजार रुपैयाँ आम्दानी गर्नुभएका तिलिजाले यसपालि पनि त्यति नै कमाई हुने अनुमान गर्नुभएको छ ।

तिलिजा जस्तै उत्तरी म्याग्दीको नागी, राम्चे, टिकोट, घराम्दी, खिवाङ, शिख, फलाते, चित्रे क्षेत्रका कृषक हिजोआज बारीमा फलेको आलु खन्न र बजारमा पठाउन व्यस्त छन् । उनीहरुलाई पिठ्यूँमा बोकेर आलु बेच्न बजार पुग्दासमेत उचित मूल्य नपाउने हो कि भन्ने चिन्ता छैन । बारीमा आलु नखन्दै व्यापारीबाट पेस्की बुझिसकेका छन् ।

पहिले अन्नसँग साटिने आलु बेचेर यहाँका कृषक पछिल्लो समय गाउँमा करोडौँ नगद भित्र्याउन सफल भएका छन् । उत्तरी म्याग्दीका मध्य पहाडी बस्तीमा बर्खे आलु प्रमुख आयस्रोत बनेको छ । गाउँमा सडक सुबिधासँगै आलु निकासी र नगद भित्रन थालेको हो । “घरायसी उपभोग र कोसेलीमा सीमित आलुखेती अहिले आयस्रोतको गतिलो माध्यम भएको छ,” तिलिजाले भन्नुभयो – “बजारको समस्या छैन । व्यापारीले पहिले नै पेस्की दिएर बारीबाटै आलु किन्छन् । फलाउन सकिए जति पनि बिक्री हुन्छ ।”

स्थानीय बासिन्दालाई आवत–जावतका लागि सुविधा, दैनिक उपभोग्य र निर्माण सामग्रीको ढुवानी तथा आलुलगायत कृषि उपज निकासीका लागि समुदायबाट करोडौँ लगानीमा सडक निर्माण भएको छ । न्यून सरकारी अनुदानसँगै चन्दा सङ्कलन र ऋण खोजेर सडक निर्माण भएको हो । नियमित रुपमा जिप, बस चल्न नसके पनि ट्याक्टरबाट आलु ढुवानी गर्न पाउँदा गाउँका कृषकलाई आम्दानी र सुविधाका हिसाबले राहत मिलेको महभिर टिकोट सडक आयोजनाका अध्यक्ष चन्द्रबहादुर पुनले बताउनुभयो ।

समुद्री सतहदेखि एक हजार ३०० मिटरभन्दा माथिल्लो भूगोलमा अवस्थित सो क्षेत्रमा उत्पादन भएको आलु बेनी, पोखरा, कुश्मा, बागलुङ र काठमाडौँ निकासी हुने गरेको छ । बेनीमा ४५ र पोखरा पु¥याउँदा ५० रुपैयाँ प्रतिकिलोका दरले आलु बिक्री हुने गरेको टिकोटका धनबहादुर पुनले बताउनुभयो ।

उहाँका अनुसार आलु बेचेर एकजना कृषकले वार्षिक एक लाखदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्छन् । सो क्षेत्रका करिब एक हजार घरधुरी कृषकले व्यावसायिक आलुखेती गर्ने गरेका छन् । त्यहाँका कृषकले आलुखेतीमा रासायनिक मल र विषादीको प्रयोग गर्दैनन् । प्राङगारिक मल र जैविक विषादीको प्रयोग गरेर किसानले आलुखेती गर्दै आएको राम्चेका राजु पुनले बताउनुभयो ।

छिटो पाक्नु, ठूला दाना तथा खाँदा स्वादिलो हुनु उत्तरी म्याग्दीमा उत्पादित आलुको विशेषता भएको कृषक पुनले बताउनुभयो । सो क्षेत्रमा केही वर्षयता मकै र कोदोको विकल्पमा आलुखेती हुन थालेको छ । बजार सुविधा भएपछि अन्नबालीको विकल्पमा आलुखेती विस्तार भएको जिल्ला कृषि विकास कार्यालयका बागबानी विकास अधिकृत भोजबहादुर थापाले बताउनुभयो ।

“उत्तरी म्याग्दीमा कोदो र मकै खेती घटेर आलुखेती विस्तार भएको छ,” थापाले भन्नुभयो – “बजार र सडक सुविधाको पहुँचसँगै कृषकले व्यावसायिक रुपमा आलुखेती गर्ने क्रम बढेको छ ।” वर्षाैंसम्म खेती हुन नसकेर बाँझिएको जमिन पनि आलुखेतीमा प्रयोग हुन थालेको छ । आलुखेती अन्य बालीको तुलनामा सजिलो मानिन्छ । दुई ३९ घरधुरीको बसोबास रहेको राम्चे गाविसबाट मात्रै गत वर्ष एक करोड ५० लाख रुपैयाँ मूल्य बराबरको आलु निकासी भएको स्थानीय अगुवा कृषक भक्तबहादुर पुर्जाले बताउनुभयो ।

“गत वर्ष आलु बेचेर गाउँमा डेढ करोड रुपैयाँ भित्रिएको थियो,” पुर्जाले भन्नुभयो – “यसपालि वैशाख–जेठमा खडेरी र असार लागेपछिको झरीका कारण राम्चेमा आलु उत्पादन ७० प्रतिशतले घटेको छ ।”

बागबानी विकास अधिकृत थापाले प्रतिकूल मौसमका कारण यसपालि जिल्लाभर समग्रमा आलु उत्पादनमा कमी आउने अनुमान गरिएको बताउनुभयो । एक हजार ६१५ हेक्टर क्षेत्रफलमा आलुखेती भएको म्याग्दीमा आर्थिक वर्ष २०७१/७२ मा १६ हजार ५५३ मेट्रिक टन आलु उत्पादन भएको थियो ।

गत वर्ष करिब छ करोड रुपैयाँ मूल्य बराबरको पाँच हजार २८२ मेट्रिक टन आलु जिल्लाबाहिर निकासी भएको कृषि विकास कार्यालयको तथ्याङ्क छ । पात्लेखेत, पाखापानी, सिङ्गा, भकिम्ली, ज्यामरुककोट, राम्चे, हिस्तान, घार र शिख गाविस आलुखेतीका पकेट क्षेत्र हुन् । ती गाविसमा कृषि विकास कार्यालयले आलु उत्पादन आयोजना सञ्चालन गरेर अनुदानमा बीउ आलु वितरण, बीउ आलु भण्डारण भवन निर्माणमा सहयोगका साथै तालिम प्रदान गर्दै आएको छ । यस वर्ष बरञ्जा र लुलाङको मरेनीमा बीउ आलु भण्डारण भवन निर्माण भएका छन् । म्याग्दीमा एमएस ४२, कुफ्रिज्योती, कार्डिनल, एनपिआई १०६, टिपिएस, म्याग्दी लोकल जातको आलुखेती हुन्छ । माघ–फागुनमा महिनामा लगाइने बर्खेआलु असार–साउनको समयमा खन्ने गरिन्छ ।

आलुखेती म्याग्दीको प्रमुख निकासीयोग्य बालीका रुपमा विकास भएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । गुणस्तरीय आलु उत्पादन वृद्धि र बजार प्रवद्र्धनमा कार्यालयले जोड दिएको उहाँको भनाइ छ । प्राङ्गारिक प्रविधिले आलुखेती हँुदै आएको राम्चेलाई आलु गाउँ घोषणा गर्ने तयारी भएको छ । गाउँको मुख्य आयस्रोत आलुखेती बनेकाले राम्चेलाई चिनाउन आलु गाउँ घोषणा गर्ने योजना अघि सारिएको गाविस सचिव कृष्णबहादुर विश्वकर्माले बताउनुभयो । जिल्ला कृषि विकास कार्यालयसँग सहकार्य गरेर घोषणा गर्न पहलकदमी लिइँदै छ । (सन्तोष गौतम) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *