गाउँमा बैंक शाखा खोल्न अनुमति लिनु नपर्ने

Post Date : September 28, 2016 | 10:52 am

काठमाडौं, १२ असोज । नेपाल राष्ट्र बैंकसँग बैंक तथा वित्तीय संस्थाले अब गाउँमा शाखा स्थापना गर्दा अनुमति लिन नपर्ने भएको छ । राष्ट्र बैंकले शाखा स्थापनासम्बन्धी हाल विद्यमान व्यवस्थालाई संशोधन गरी बैंक तथा वित्तीय संस्थालाई स्वीकृति लिनु नपर्ने परिपत्र जारी गरेको छ ।

नया व्यवस्थाअन्तर्गत काठमाडौं उपत्यका, महानगरपालिका वा उपमहानगरपालिका वा नगरपालिका केन्द्र बाहेकका स्थानमा शाखा खोल्न राष्ट्र बैंकको स्वीकृति चाहिँदैन ।

तर, ती स्थानमा शाखा संचालन भएको सातदिन भित्र राष्ट्र बैंकलाई जानकारी भने दिनु पर्नेछ ।

यसै गरी बैंक तथा वित्तीय संस्थाको केन्द्रीय कार्यालयदेखि शाखा वा कुनै किसिमको शाखा कार्यालय बन्द गर्नु पर्ने वा गाभ्नु पर्ने भएमा राष्ट्र बैंकको स्वीकृति लिनु पर्नेछ ।

भूकम्पबाट बढी प्रभावित १४ जिल्लामा शाखा स्थापना गर्न पनि बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको स्वीकृति चाहिँदैन । तर, काठमाडौं उपत्यकामा एउटा शाखा खोल्नको लागि काठमाडौं उपत्यका बाहिर तीनवटा शाखा खोल्नु पर्ने व्यवस्था भने यथावत राखिएको छ ।

२०७३ को असार मसान्तसम्म २८ वटा वाणिज्य बैंकको १ हजार ८ सय ६९ वटा, ६७ वटा विकास बैंकको ८ सय ५२ वटा वित्त कम्पनीको १ सय ७५ वटा र ४२ वटा लघुवित्त संस्थाको १ हजार ३ सय ७३ वटा शाखा संचालनमा रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *