गोलभेँडा खेतीबाट रु दश लाखसम्म आम्दानी

Post Date : September 4, 2016 | 3:51 pm

पाँचथर, १९ भदौ । पाँचथरको उत्तरी भेगका किसानले गोलभेँडा खेतीबाट रु दश लाखसम्म आम्दानी गर्न थालेका छन् ।

जिल्लाको अमरपुर, पञ्चमी, नाँगी, थर्पु, भारपालगायत गाविसका कृषकले व्यावसायिक गोलभेँडा खेती गरेर वार्षिक प्रतिपरिवार डेढ लाखदेखि दश लाखसम्म आम्दानी गर्न सफल भएका हुन् ।

जिल्लामा १२ हजार भन्दा बढीकृषकले गोलभेँडालाई नै मुख्य व्यावसायिक खेतीको रुपमा अपनाएको पाँचथर जिल्ल्ला कृषि विकास कार्यालयले जनाएको छ । अमरपुर गाविसमा मात्र ८०० घर परिवारले सो खेती गर्दै आएका छन् ।

गोलभेँडा खेतीबाट यहाँका कृषकको आर्थिक जीवनस्तर माथि उकास्सिएको अमपुरका समरबहादुर अधिकारीले जानकारी दिनुभयो ।

गत वर्ष जिल्लाबाट रु ४७ करोड बराबरको गोलभेँडा निकासी भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत बेनुप्रसाद प्रसाईंले बताउनुभयो । विभिन्न कृषि समूह तथा सहकारीमा आबद्ध भई सामूहिक रुपमा गोलभेँडा खेतीमा लागेर यहाँका किसानले राम्रो कमाइ गरेका हुन् । कार्यालयले समेत वैदेशिक रोजगारबाट फर्किएका युवालाई अनुदान दिएर गोलभेँडा खेतीतर्फ आकर्षित गराएको छ ।

सहकारीहरुले उचित मूल्य दिई सङ्कलन गरेको गोलभेँडा ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, चितवन, काठमाडौँ र भारतको सिलगुडीसम्म निर्यात हुने गरेको नाँगीका कृषक चन्द्रमणि बास्कोटाले बताउनुभयो ।

उहाँले भन्नुभयो– उत्पादनस्थलबाटै गत वर्ष २० रुपैयाँमा बिक्री भएको यहाँको गोलभेँडा यस वर्ष प्रतिकिलो रु ४०।– मा किनबेच भइरहेको छ । जिल्लामा ३९२ हेक्टर जमिनमा गोलभेँडा खेती भएको र कार्यालयले कृषकलाई बीउबिजन, प्रविधि र प्लास्टिक टनेल उपलब्ध गराएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *